दोस्रो इन्स्योरेन्स डिस्कोर्शः  पुनर्बीमा बजारसम्बन्धी सत्रको वक्तामा अर्थ मन्त्रालयका सह-सचिव रिसाल 

दोस्रो इन्स्योरेन्स डिस्कोर्शः  पुनर्बीमा बजारसम्बन्धी सत्रको वक्तामा अर्थ मन्त्रालयका सह-सचिव रिसाल 


काठमाडाैं – बैंकिङ्ग समाचार डट्कम र नेपाल बीमा प्राधिकरणको सहकार्यमा यही पुष २५ गते हुने दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ मा अर्थ मन्त्रालयका सह-सचिव नारायण प्रसाद रिसाल वक्ताका रूपमा सहभागी हुने भएका छन् । छलफलको चौथो सत्रको ‘नेपाली पुनर्बीमा बजारको सीमा विस्तारः व्यवसाय वृद्धिमा नवीनता’ शीर्षकमा हुने छलफलमा वक्ताका रूपमा रिसाल सहभागी हुने भएका हुन् ।

करिब २१ वर्षको निजामती सेवा अनुभव सम्हालेका रिसाल विगत १ वर्षदेखि अर्थमन्त्रालयमा सह-सचिवकाे रूपमा कार्यरत छन्। रिसाल यसअगाडि अख्तियार दुरुपयोग आयोग, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय लगायत विभिन्न निकायमा कार्यरत रहेका थिए । साथै, उनले विभिन्न जिल्लाको स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारीलगायतका पदको कार्यअनुभव सम्हालेका छन् । 

नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको सदस्य,  पुँजी बजारका साथै विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा आबद्ध भइसकेका छन् । देउमाई नगरपालिका ७ इलाममा  जन्मिएका रिसालले  त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन सङ्कायमा स्नातकोत्तर र दक्षिण कोरियास्थित सुङक्युङ्कवान विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेका छन् । 

बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुष २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा  कार्यक्रमको उद्घाटन गरिनेछ । उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने छ ।

मुख्यरुपमा सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू, बीमामा प्रविधिको उदय चुनौती र अवसरहरू, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार व्यवसाय वृद्धिमा छलफल हुने छ । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरूको समाधान खोज्न सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।