‘साँवा तथा व्याज बुझाउने समय बढाउँदा राम्रो हुन्छ’

‘साँवा तथा व्याज बुझाउने समय बढाउँदा राम्रो हुन्छ’


महेश गौतम, शाखा प्रवन्धक, कामना सेवा विकास बैंक, स्याङ्गजा, वालिङ्ग शाखा  

लामो समयको लक डाउनले सिंगो अर्थतन्त्र प्रभावित भएको छ । आगामी दिनमा यसको प्रभाव झन् गम्भीर हुँदै जाने देखिन्छ । बैकिङ्ग कारोबारहरु हुन नसकेका कारण व्यवसायमा असर परिरहेको छ । सरकारले डिजिटल बैकिङ्ग कारोबारलाई प्रोत्साहन गर्ने नीति लिएको छ । बढ्दो संक्रमणको त्रासमा रहेको बेला सरकारले आगामी बजेट पनि प्रस्तुत गरिसकेको छ । बजेटमा सरकारले सहुलियत कर्जा प्रवाहका विषयलाई पनि उठान गरेको छ । यसैबीच, लक डाउनकाबीच ग्रामिण क्षेत्रका बैंकले कसरी काम गरीरहेका छन्  र कर्जा प्रवाहको पाटोलाई कसरी हेरिरहेका छन् ? भन्ने तमाम विषयहरुमा कामना सेवा विकास बैंक, स्याङ्गजा, वालिङ्ग शाखाका शाखा प्रवन्धक महेश गौतमसँग बैकिङ्ग  समाचारका लागि मनोज रेग्मीले  गरेको कुराकानीः 

कोरोनाको कहरबीच बैंकमा कसरी काम गर्नुभएको छ ? 

हामीले अहिले नेपाल राष्ट्र बैंकले दिएको निर्देशन अनुरुपनै एक तिहाई कर्मचारीको उपस्थितीमा काम गरिरहेका छौँ । यसमा पनि हामीले कर्मचारीहरुबीच आलोपालो गर्दै हप्तामा दुई दिन विहान ११ बजेदेखि दिउसो २ बजेसम्म काम काउन्टरहरु सञ्चालनमा ल्याएका छौँ । तर जेठ २५ गतेबाट भने निरन्तर सबै शाखाहरु सञ्चालन गर्नुपर्ने निर्णय बैंकले गरेको छ । अब भने हामीले निरन्तर रुपमा काउन्टरहरु खोलेर सेवा प्रवाह गर्ने योजना बनाइरहेका छौं । 

स्याङ्गजामा कोरोना संक्रमणको शंख्या तिब्र गतिमा बढेको छ । निरन्तर रुपमा बैंक खोल्दा त्रास झनै बढ्ला नि ? 

हो, बैंक खोल्दा झन त्रास बढ्ने देखिन्छ । हाम्रो वालिङकै कुरा गर्दा बैंकहरुको कारणले गर्दा नै बजारमा मानिसहरुको भिडभाड भएको हो । समान्य रुपमा कुनै मानिसलाई कहाँ हिँडेको भनेर सोध्धा पनि बैंकतिर हिँडेको भन्ने जवाफ पाइन्छ । यस्तै खाले कामकार्यले पनि कोरोना संक्रमणको जोखिम बढ्ने हो । अहिलेको अवस्थामा ठ्याक्कै भन्दा बैंकहरुको कारणले नै शहर बजारमा जमात सिर्जना भएको भन्दा फरक नपर्ला । हामी बैंकका कर्मचारीहरुले त उचित सुरक्षा संवेदनशिलता अप्नाएका छौँ । तर माक्स र सेनिटाइजरको प्रयोगले मात्रै त कोरोना संक्रमण नियन्त्रण हुन सक्दैन । यसमा पनि हामीले हाम्रो सुरक्षा सवेंदनशीलता अप्नाए पनि ग्राहकहरुको सुरक्षालाई मध्यनजर गर्नुपर्ने हुन्छ । त्यसैले मेरो विचारमा हामीलाई अहिले नै यती धेरै बैंकका शाखाहरु खुल्ला गर्नुपर्ने केही आवश्यक देखिँदैन । यसमा नेपालको केन्द्रीय बैंकले उचित निर्णय लिनु जरुरी छ । 

आगामी बजेटले विकास बैंकका प्रत्यक शाखाले कम्तीमा पनि ५ जनालाई ५ प्रतिशत ब्यादरमा सहुलियत कर्जा प्रवाह गर्नुपर्ने उल्लेख गरेको छ ।  यसलाई कसरी लिनुभएको छ ? 

अहिले नै यसलाई लागु गरिहाल्ने त्यस्तो कुनै आधिकारिक निर्णय आइसकेको त छैन । यो सरकारी योजना हो । सरकारले सहुलियत ऋण दिनुपर्ने कुरा समावेश गरिसकेपछि यो पक्कै पनि कार्यान्वयन गर्नुपर्ला । यद्यपी हाम्रो नियमनकारी निकाय भनेको राष्ट्र बैंक हो । केन्द्रीय बैंकले यसमा फेरि हामीलाई निर्देशित पक्कै पनि गर्ला । यद्यपी सरकारले सहुलियत ऋण दिनुपर्ने भनेपछि हामीलाई त झन दिन सहज हुने भयो । 

कोरोना संक्रमणपछिको लकडाउनका कारण आम मानिसमा डिजिटल बैंकिङ्ग कारोबारको महत्वको बारेमो चेतना आएको छ । तर, ग्रामीण क्षेत्रमा भने यसको पहुँच अत्यान्तै न्युन छ । ग्रामीण क्षेत्रमा प्रविधिको विकास कसरी गर्ने ? 

हो ठिक कुरा हो । अझै पनि ग्रामीण क्षेत्रका बासीन्दामा वित्तीय ज्ञानको अभाव छ । सरकारले नियमनकारी निकाय राष्ट्र बैंकले वित्तिय शाक्षरतालाई तिब्र गतिमा बढाउन निर्देशन दिए पनि कारणबस त्यसो हुन सकेको छैन । अझ ग्रामीण क्षेत्रमा हामी सरहका मानिसहरुमा पनि वित्तीय ज्ञान र डिजिटल कारोबारका बारेमा ज्ञानै छैन । तर लकडाउनका कारण विद्युतिय भुक्तानीको महत्व र यसको प्रयोगको बारेमा उचित ज्ञान हुनुपर्ने महशुस भने गराएको छ ।

हामीले नै कतिपय हामीजस्तै मानिसहरुलाई देखेका छौँ बैंकको काउन्टर नखोल्दासम्म उसले पैसा निकाल्न नपाएको । एटीएम कार्डको बारेमा थाहै नभएका मान्छे पनि यहाँ धेरै छन् । उनीहरुलाई सानो सानो रकमको आवश्यकता पर्दा पनि चेकबाट कारोबार गर्ने गर्दछन् । त्यसकारण यसमा सबैभन्दा पहिला त वित्तिय शाक्षारताको हो । र दोस्रोमा बल्ल प्रविधिको कुरा आउँछ । शहर बजारतिर त वित्तिय ज्ञान र प्रविधिका बारेमा अधिकांशलाई थाहा छ । तर, ग्रामिण भेगमा भने यसको अभियानै चलाउनुपर्ने देखिन्छ । राष्ट्र बैंकले पनि यसमा धेरै ध्यानकेन्द्रीत गर्नु जरुरी छ । यसमा माथिबाटै त्यस्तै खालका नितिहरु ल्याउने हो भने हामी ग्रामीण क्षेत्रमा स्थापित भएका बैंकहरुलाई पनि सहज हुन्छ । तर, यो फेरि ह्वात्तै हुने कुरा भने होइन । यसको पहुँच विस्तारका लागि केही समय भने पक्कै लाग्छ । 

यतीबेला बैंकहरुलाई कर्जाको सावां–ब्याज बुझाउन मुस्किल परेको देखिन्छ ? तपाइहरुको शाखाको अवस्था कस्तो छ ? 

चैत मसान्तसम्मको कुरा गर्दा सबै कुरा सहज थियो । तर, पछिल्लो तिन महिनाको नतिजा भने अलिक खराब देखिन्छ । कोरोना भाइरस संक्रमण र त्यसपछिको लकडाउनका कारण मुलुकको दैनिक कारोबार ठप्प भएको छ । त्यसैले दैनिक कारोबार ठप्प हुँदा यसको प्रभाव बैंक तथा वित्तिय संस्थाहरुमा पनि परेको छ । यसकारण मलाई लाग्छ अहिलेको अवस्था सबैलाई जटील छ । ऋण उठ्छ नउठ्ने भन्ने कुरै हुँदैन । हामीसँग ऋण लिएर जानुभएका ग्राहकहरु हाम्रो सम्पर्कमा हुनुहुन्छ । तर बैंकहरुले पनि के बुझ्दिनुपर्छ भने अहिलेको अवस्थामा उनीहरुको पनि व्यवसाय चौपट भएको छ । यस्तो अवस्थामा उनीहरुलाई पनि कर्जाको सांवा ब्याज बुझाउन त्यती सहज छैन । त्यसैले केन्द्रीय बैंकले पनि ऋीणिहरुको समस्यालाई बुझेर कर्जा बुझाउने समय सीमा हेरफेर गर्दा दुवै पक्षलाई सहज हुन्छ ।