काठमाडौं – राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ४ जनाको नाम छनाैट गरिएको छ। सीईओ पदमा आवेदन दिएकामध्ये चारजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट भएका हुन् ।
यसअघि कम्पनीले असोज १६ गते एक सूचना प्रकाशित गर्दै सीईओ पदका लागि आवेदन माग गरेको थियो । आवेदन परेकामध्ये ४ जना प्रतिस्पर्धामा भएपनि अन्तर्वार्तामा फालिएका थिए । त्यसपछि पुनः मंसिर ६ गते सूचना प्रकाशित गर्दै सीईओ छनोटको प्रक्रिया शुरु भएकाे थियाे ।
समितिले कम्पनीको सीईओका लागि महेश रिजाल, राजुनाथ खनाल, रामदेव यादव र सुन्दर पन्थीलाई छनाैट गरेकाे हाे। समितिले चारैजनालाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाएको छ । जसअनुसार प्रस्तुतीकरण माघ ४ गते दिउँसो साढे ३ बजेदेखि शुरु हुनेछ भने अन्तर्वार्ता माघ ५ गते बिहान ८ बजेदेखि हुनेछ ।
प्रस्तुतीकरण र अन्तर्वार्ता कम्पनीको प्रधान कार्यालय रामशाहपथ, काठमाडौंमा हुनेछ । कम्पनीको रिक्त रहेको सीईओ पदमा आवेदन दिएका मध्येबाट शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजना मूल्यांकनअनुसार चारजना छनोट भएका छनोट तथा सिफारिस समितिले जनाएको छ ।
प्रतिक्रिया