दोस्रो इन्स्योरेन्स डिस्कोर्श : निर्जीवन बीमा सम्बन्धी सत्रको वक्तामा बीमा प्राधिकरणका निर्देशक सुवेदी सहभागी हुने

दोस्रो इन्स्योरेन्स डिस्कोर्श : निर्जीवन बीमा सम्बन्धी सत्रको वक्तामा बीमा प्राधिकरणका निर्देशक सुवेदी सहभागी हुने


काठमाडौं – दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ मा वक्ताका रूपमा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदी सहभागी हुने भएका छन् । छलफलको दोस्रो सत्र ‘निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध’ शीर्षकमा हुने छलफलमा वक्ताका रूपमा सुवेदी सहभागी हुने भएका हुन् ।

सुशील देव सुवेदी नेपाल बीमा प्राधिकरणका निर्देशक हुन् । सुवेदीले यही असार १ गतेदेखि प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी समेत सम्हालिसकेका छन् । सुवेदीले बीमा क्षेत्रमा १९ वर्ष बिताइसकेका छन् । प्राधिकरणका निर्देशक सुशील देव सुवेदी तत्कालीन बीमा समितिमा २०६३ साल वैशाखमा प्रवेश गरेका थिए । राजधानीको कुनै कलेजमा स्नातकोत्तर तहका विद्यार्थीलाई बीमा विषय पढाउँदै आएका उनले अब पढाउन छोडेर प्रतिष्ठानले दिने शिक्षा र तालिमलाई नै बलियो बनाउने निर्णयमा पुगेका छन् ।

सुवेदीले स्नातकोत्तर तहकै विद्यार्थीका लागि तीन वटा बीमासम्बन्धी पुस्तक समेत प्रकाशित गरेका छन् । २०६१ सालमा शंकरदेव कलेजबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका उनले अंग्रेजी संस्करणमा लेखेका बीमासम्बन्धी पुस्तकहरू ‘स्र्टाटेजिक म्यानेजमेन्ट’ ‘बिजनेश इन्भायोरमेन्ट’ र ‘इन्डिपेन्डेन्ट इन्टरप्रेनरसिप डेभलपमेन्ट’ हुन् । सुवेदी विभिन्न अनुसन्धानसम्बन्धी प्रतिष्ठानमा समेत आबद्ध छन् । उनले आफूलाई एक अनुभवी र प्रभावशाली व्यक्तिको रूपमा स्थापित गरेका छन् ।

बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुष २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा कार्यक्रमको उद्घाटन गरिनेछ । उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ ।

मुख्यरुपमा सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरु, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरु, बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरु, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार, व्यवसाय वृद्धिमा छलफल हुने छ । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरुको समाधान खोज्न सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।