दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श : बीमामा प्रविधि सत्रकाे वक्तामा नेपाल लाइफका सीईओ पराजुली 

दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श : बीमामा प्रविधि सत्रकाे वक्तामा नेपाल लाइफका सीईओ पराजुली 


काठमाडौं – बैंकिङ्ग समाचार र नेपाल बीमा प्राधिकरणको सहकार्यमा यहि पुष २५ गते हुने दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ मा नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रवीणरमण पराजुली सहभागि हुने भएका छन् । विभिन्न सत्र मध्येको तेस्रो सत्र ‘बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरु’ मा वक्ताका रुपमा सहभागी पराजुली हुने भएका हुन् ।

पराजुलीले २०२२ जुलाई २० देखि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यभार सम्हाल्दै आएका छन् । उनले सीईओमा नियुक्त हुनु अघि नेपाल लाइफमा नै डिसीईओको कार्यभार सम्हालिसकेका थिए । उनले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा चार वर्षको कार्यकाल पूरा गरिसकेका छन् भने पराजुलीले काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टबाट एमबीए गरेका छन् । उनले एसईईसम्म नेपालमा अध्ययन गरे तर एसईई पश्चात चण्डीगढबाट सिनियर स्कूल सर्टिफिकेट परीक्षा र भारतको मँगलोर विश्वविद्यालयबाट ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट पूरा गरेका हुन् ।

पराजुलीसँग नेपालका बीमा र वित्तीय क्षेत्रहरूमा लगभग २० वर्ष कार्य गरेको अनुभव छ । उनले २००२ मा डाबर नेपाल प्राइभेट लिमिटेडबाट आफ्नो करियर सुरु गरेका थिए । २००३ मा उनले एनएमबी बैंक लिमिटेडको लगानी (मर्चेन्ट) बैंकिङ्ग विभागमा रिलेशनशिप म्यानेजरको रूपमा पनि काम गरेका छन् । त्यसपछि २००९ मा उनले नबिल बैंक लिमिटेडको मर्चेन्ट बैंकिङ्गको प्रमुखको रूपमा कार्यभार सम्हाले । त्यस्तै, उनले २०१० देखि २०१७ सम्म नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका सीईओका रूपमा काम गरे । पराजुली २०१५ देखि २०१७ सम्म नेपाल मर्चेन्ट बैंकर्स एसोसिएशनका अध्यक्ष पनि थिए ।

बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुष २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा कार्यक्रमको उद्घाटन गरिनेछ । उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ । मुख्यरुपमा सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरु, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरु, बीमामा प्रविधिको उदय, चुनौती र अवसरहरु, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार, व्यवसाय वृद्धिमा छलफल हुने छ । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरुको समाधान खोज्न सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।