काठमाडौं – नेपाल बीमा प्राधिकरणले सङ्खुवासभाको चिचिला गाउँपालिकामा सोमबार बीमा सचेतना कार्यक्रममा आयोजना गरेको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले समयमै दाबी रकम नपाए बीमा प्राधिकरणको प्रादेशिक तथा केन्द्रीय कार्यालयमा उजुरी गर्न आग्रह गरेका छन् ।
कार्यक्रममा सभापतिसमेत रहेका महर्जनले भने, ‘दाबी गर्दा समयमै भुक्तानी नपाए बीमा प्राधिकरणको प्रादेशिक तथा केन्द्रीय कार्यालयमा उजुरी वा जानकारी दिन सकिन्छ।’ न्यायोचित दाबी नपाए पनि प्राधिकरणमा उजुरी गर्न महर्जनले आग्रह गरे। ‘अलैँची तथा कफी बीमाको विस्तृत जानकारीका लागि बीमा कम्पनीसँग बुझ्न सकिन्छ’, उनले । कार्यक्रममा सहभागीहरूको बीमा दाबीमा ढिलाइ भएको, नपाएको भन्ने प्रश्नको जवाफमा उनले प्रादेशिक तथा केन्द्रीय कार्यालयमा उजुरी गर्न आग्रह गरेका हुन् ।
अन्तरक्रियामा सहभागी कृषकहरूले बीमा दाबी लिन निकै कठिन भएको, पटक- पटक कागजात बझाउनुपर्ने लगायतका समस्या झेल्नुपरेको गुनासो गरेका थिए । साथै, उनीहरूले बीमा दाबीमा सहजीकरण गर्न स्थानीय तहले कस्तो भूमिका खेल्नुपर्छ, कृषि फर्मको कसरी बीमा गर्न सकिन्छ? कृषि तथा अलैँची बीमा लेखबारे जिज्ञासा राखेका थिए ।
साेक्रममा स्थानीय जनप्रतिनिधि, कृषि प्राविधिक, किसान, विद्यार्थी, शिक्षक, बीमा कम्पनीका प्रतिनिधि गरी ८५ जनाको सहभागिता थियो । कार्यक्रमको सञ्चालन प्राधिकरणका सहायक निर्देशक सचिन गैह्रेले गरेका थिए । कार्यक्रममा बीमाको महत्व, जोखिम व्यवस्थापन, बीमाका प्रकार, बीमा गर्दा ध्यान दिनुपर्ने कुरा, बीमाको दाबी प्रक्रिया, सरकारबाट बीमा प्रवर्द्धनका लागि गरिएका प्रयास बीमाको विकासमा स्थानीय तहको भूमिका, स्थानीय सरकारलाई बीमा प्राधिकरणले गर्न सक्ने सहयोगका विषयमा छलफल भएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पाले आफूले जीवन बीमा र पसलको बीमा गरेको बताए। पसलमा असिनापानीले क्षति पुर्याउँदा दाबी पाउन झन्झट व्यहोर्नुपरेको अनुभव पनि उनले सुनाए।
अध्यक्ष शेर्पाले अबको नीति तथा कार्यक्रममा कृषि बीमा समेटेर लग्ने बताए। ‘गाउँपालिकादेखि वडा तहसम्मका जनप्रतिनिधि र कर्मचारीको दुर्घटना बीमा गर्ने विषयमा छलफल गर्छौं’, उनले भने । सोही क्रममा प्राधिकरणले मत्स्यपोखरी गाउँपालिका–३ पाख्रिबास बलौटेस्थित सरस्वती माविमा पनि विद्याथीसँग बीमा सचेतना कार्यक्रम गरेको थियो । कार्यक्रममा कक्षा ८, ९ १० मा पढ्ने ८५ जना विद्यार्थी र शिक्षकको सहभागिता थियो । विशेष अतिथि प्रधानाध्यापक भूमिकुमार राई र सभापति बीमा प्राधिकरणका उपनिर्देशक महर्जन रहेका कार्यक्रममा प्रस्तुतीकरण सहायक निर्देशक सचिन राईको रहेको थियो।
प्रतिक्रिया