काठमाडौं – बैंकिङ्ग समाचार डट्कम र नेपाल बीमा प्राधिकरणको संयुक्त आयोजनामा हुन गइरहेको ‘दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५’ को पूर्व सन्ध्यामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सम्बन्धित निकायको उपस्थितिमा आइतबार काठमाडौंमा भएको सो अन्तरक्रिया कार्यक्रममा पुष २५ गते हुने डिस्कोर्शका मुख्य चार सत्रहरूमा हुने बहसको विषयमा छलफल गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा बैंकिङ्ग समाचार डटकमका प्रबन्ध निर्देशक राजु ढुंगेलले हरेक सत्रको विषयवस्तु, प्यानलिस्टको नाम लगायतका जानकारी प्रस्तुत गरेका थिए । कार्यक्रमको विषयमा सबै जानकारी दिँदै उनले २५ गतेको लागि निमन्त्रणा समेत दिए । साथै, ढुंगेलले अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट कार्यक्रम उद्घाटन हुने जानकारी दिए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले प्राधिकरणले समेत गर्न नसकेको काम बैंकिङ्ग समाचारले गरेको बताए । उनले बैंकिङ्ग समाचारले गरेको २०२३ को डिस्कोर्शले पनि बीमा क्षेत्रमा ठुलो भूमिका खेलेको भन्दै प्रत्येक वर्ष इन्स्योरेन्स डिस्कोर्श आयोजना गर्नुपर्ने बताए । छलफलका क्रममा सुवेदीले डिस्कोर्शका क्रममा रहेका सत्रका विषयवस्तु निकै सान्दर्भिक रहेको बताए ।
कार्यक्रममा बीमा प्राधिकरणकी निर्देशक पुजन ढुंगेलले डिस्कोर्शका उठेका विषयबस्तुले पोलिसि निर्माणमा पनि सहयोग पुर्याउने बताइन् । उनले बैंकिङ्ग समाचारको आयोजनामा हुन लागेको डिस्कोर्शले बीमा क्षेत्रमा सचेतना जगाउन पनि भूमिका खेल्ने बताइन् । निर्जीवन बीमा एशोशिएसनका अध्यक्ष एवंम सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिकाे) का प्रमुख कार्यकारी अधिकृत चकीं क्षेत्रीले बीमा बजारमा यस्तो किसिमको कार्यक्रमले सफल मार्गदर्शनकाे लागि सहज हुने बताए । उनले बीमा क्षेत्रमा भएको सुधार र सुधार्नुपर्ने पक्षलाई औँल्याउँदै अघि बढ्नु पर्ने बताए । साथै, सानिमा रिलायन्सका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलले आफू डिस्कोर्शको लागि उत्साहित रहेको बताए। उनले यस किसिमको कार्यक्रम हुनुपर्ने बताए ।
बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुष २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो। उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहनेछ ।
मुख्यरुपमा सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू, बीमामा प्रविधिको उदय चुनौती र अवसरहरु, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार व्यवसाय वृद्धिमा छलफल हुने छ । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरूको समाधान खोज्न सुधार गर्न महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ। डिस्कोर्शपछि रिपोर्ट नेपाल बीमा प्राधिकरण र सरोकारवालाहरुलाई पुर्याउने पनि आयोजकको तयारी छ ।
छलफल कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरु, अर्थ मन्त्रालयका सचिव नारायण प्रसाद रिसाल, निर्जीवन बीमा एशोशिएसनका अध्यक्ष , रिलायबल लाइफ इस्योरेन्स , हिमालयन रिइन्स्योरेन्स, सुर्यज्योति लाइफ इन्स्योरेन्सका सीईओ लगायत विभिन्न सत्रका सहजकर्ताको सहभागिता रहेको थियो ।
प्रतिक्रिया