काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ । न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ पुस १८ गते काठमाडौंमा आयोजित एक विशेष समारोहबिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त बीमा योजना सार्वजनिक गरेका हुन् ।
एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि आर्थिक सुरक्षा, सुनिश्चितता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा हो । यसको न्यूनतम बीमाङ्क रकम पाँच लाख र अधिकतम बीमाङ्क रकम एक करोड रहेको छ ।
बीमा अवधि न्यूनतम एक वर्षदेखि अधिकतम ३५ वर्षसम्म हुनेछ भने बीमा समाप्तिमा बिमितको अधिकतम उमेर ६० वर्ष रहेको छ । यस योजनामा ऐच्छिक सुविधा पनि न्यूनतम पाँच वर्षदेखि अधिकतम ३५ वर्ष अवधिसम्म लिन सकिनेछ । यस योजनाअन्तर्गत बीमा अवधिभित्र जुनसुकै समयमा बिमितकोे मृत्यु भएमा बिमांक रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।
कार्यक्रममा बोल्दै यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताए । सामान्य सिद्धान्तअनुसार आम्दानीको १५ गुणासम्मको बीमा लिनु नितान्त आवश्यक रहेको विचार व्यक्त गरे ।
जोखिम बहनलाई मुख्य प्राथमिकतामा राख्दै यो म्यादी जीवन बीमा योजना सार्वजनिक गरिएको बताए । यो पोलिसीलाई मूल पोलिसीमा गाभेर बिमितलाई दिन सकिए सानो रकममा ठुलो जोखिम बहन हुने बताए । सम्पूर्ण अभिकर्तालाई सहजताका साथ यसलाई बजारीकरण गर्न आग्रह गरे । कोर प्रोडक्टसँगै गाभेर बजारमा पस्किएको यो योजना एकदमै प्रभावकारी र उत्तम रहेको र नेपाली बीमा उद्योगमा यो योजना कोसेढुंगा साबित हुनेमा आफू विश्वस्त रहेको जनाए । यस योजनाको उद्देश्यलाई मूर्तता प्रदान गर्न समस्त अभिकर्ता तथा कर्मचारीहरूलाई अग्रसरताका साथ अगाडि लम्कन आग्रह गरे ।
यस कम्पनीका नेशनल सेल्स हेड उमापति पोखरेलले थोरै बीमाशुल्कमा धेरै जोखिम बहन हुने बताए । यस बीमा योजना छुट्टै बीमालेखको रूपमा पनि लिनुका साथसाथै अन्य ६ वटा योजनामा पूरक करार सुविधाको रूपमा पनि लिन सकिने हुँदा यसको फाइदा उठाउन सबैमा आग्रह गरे ।
प्रतिक्रिया