काठमाडौं – स्वास्थ्य बीमा बोर्डले बिमितहरूको आर्थिक भार नबढाउन सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ । बोर्डले एक परिपत्र नै जारी गरेर यस्तो निर्देशन दिएको हो ।
बोर्डले परिपत्रमा भनेको छ, ‘पछिल्लो समयमा, केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमितहरूबाट अनावश्यक नगद लिने, प्याकेज दाबी गर्दा प्याकेजभित्र पर्ने औषधि तथा औषधीजन्य सामग्रीहरु नगदमा किनाउन लगाउने जस्ता स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५, तथा अन्य लागू निर्देशिका र पत्राचारहरूको विपरीतका कार्य गरिरहेको सम्बन्धमा गुनासाहरू प्राप्त भएका छन् ।’
बोर्डले सो विषयमा गुनासाहरूको समाधानका लागि गुनासाहरुको छानविन साथै स्थलगत अनुगमन पनि गरिरहेको बताएको छ । बोर्डले ऐन, नियमावली, निर्देशिका तथा पत्राचारहरूको पूर्ण पालना गरी बिमितहरूको आर्थिक भार नबढाउने कार्य गर्न आग्रह गरेको छ । अनुगमनका क्रममा कुनै सेवा प्रदायक स्वास्थ्य संस्थाले नियमविपरीत कार्य गरेको प्रमाणित भएमा बीमा बोर्डसँगको सम्झौता खारेज हुने पनि चेतावनी दिएको छ।
प्रतिक्रिया