काठमाडौं – दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ मा वक्ताका रुपमा निर्जीवन बीमक सघंका अध्यक्ष चंकी क्षेत्री सहभागी हुने भएका छन् । छलफलको दोस्रो सत्र ‘निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोध’ शिर्षकमा हुने छलफलमा वक्ताका रुपमा क्षेत्री सहभागी हुने भएका हुन् ।
चंकी सानैदेखि सरल र शान्त स्वभावका थिए । तनहुँ जिल्ला भानु गाउँपालिका समजुर गाउँमा जन्मिएका क्षेत्री यतिबेला बीमा क्षेत्रमा निर्जीवन बीमक सघंको अध्यक्ष र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् । केही समयअघि मात्रै क्षेत्री विकासोन्मुख देशहरूको बीमाकर्ताको छाता संगठन एआईआरडीसीको सञ्चालकको ट्रस्टी मेम्बरमा चुनिएका छन् । अक्टोबर ८ तारिखमा थाइल्याण्डको बैंककमा भएको एआईआरडीसीको वार्षिक साधारणसभाबाट क्षेत्री ट्रस्टीमा चुनिएका हुन् । उनी २०२४ देखि २०२६ सम्मका लागि एआईआरडीसीको बोर्डमा रहने छन् । उनले बैकिङ्ग क्षेत्रको पनि अनुभव बटुलेका छन् ।
बैंकिङ्ग समाचार डट्कमको आयोजना तथा रिलायबल लाइफ इन्स्योरेन्सको मुख्य प्रायोजनमा पुष २५ गते दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ आयोजना हुने भएको हो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा कार्यक्रमको उद्घाटन गरिनेछ । उक्त कार्यक्रममा नियामकीय निकाय, बीमा कम्पनीहरु, बैंक तथा वित्तीय क्षेत्र, बीमा विज्ञ तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहने छ । सो कार्यक्रममा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरु, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरु, बीमामा प्रविधिको उदय चुनौती र अवसरहरु, नेपाली पुनर्बीमा बजारको सीमा विस्तार व्यवसाय वृद्धिमा छलफल हुनेछ । दोस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५ ले बीमा क्षेत्रका समस्याहरुको समाधान खोज्न सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया