काठमाडौं – यही पुस २५ गते दोस्रो संस्करणको ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श’ आयोजना हुने भएको छ । बैंकिङ्ग समाचार डटकम र नेपाल बीमा प्राधिकरणको संयुक्त आयोजनामा पुस २५ मा दोस्रो संस्करणको इन्स्योरेन्स डिस्कोर्श आयोजना हुने भएको हो ।
देशको बीमा उद्योगको महत्त्व र आवश्यकतामाथि वृहत् रूपमा बहस गर्ने थलोकारुपमा रहेको इन्स्योरेन्स डिस्कोर्शको पहिलो संस्करण २०८० भदौमा सम्पन्न भएको थियो । डिस्कोर्शमा बीमा क्षेत्रको समस्या पहिचान गर्दै शतप्रतिशत जनसङ्ख्यामा यसको पहुँच विस्तार गर्ने सम्भाव्यताको खोजी हुनेछ ।
यस्तै, नियामकीय निकायबाट भइरहेका कमीकमजोरी, गर्नुपर्ने सुधार र नीतिगत झन्झट लगायतका विषयमा समेत डिस्कोर्शमा छलफल हुन्छ । डिस्कोर्शकाे उद्घाटनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आउनेछन् भने बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालको समेत उपस्थिति हुनेछ ।
पुस २५ मा हुनेडिस्कोर्शमा मूख्यगरी ४ वटा सत्र रहनेछन् । जसमा जीवन बीमा क्षेत्रको विकास र बिस्तारका रणनीति तथा परिदृश्यहरू, निर्जीवन बीमा क्षेत्रमा बजारको गतिशीलता र अवरोधहरू र बीमामा प्रविधिको उदयः चुनौती र अवसरहरू नामक सत्र हुनेछन् । यसैगरी, नेपाली पुनर्बीमा बजारको सीमा विस्तारः व्यवसाय वृद्धिमा नवीनता नामक सत्र समेत हुनेछ ।
कार्यक्रमका लागि भारतबाट पुर्नबीमा विज्ञ आत्मराम चेरुभु र पोलिसि बजार डटकमका बीमा विज्ञ अमन ढलको समेत सहभागिता रहनेछ । कार्यक्रमको अन्त्यमा पुर्व अर्थमन्त्री डा. प्रकाशसरण महतसँग सत्रमा उठेका विषयमा ‘डुओलग’ समेत हुनेछ । कार्यक्रम सम्पन्न भएपछि कार्यक्रम अवधिभर उठेका विषयहरु, उद्योगका समस्या, नीतिगत झन्झट लगायतका विषय समेटेर प्रतिवेदन बन्नेछ । र, सो प्रतिवेदन अर्थमन्त्रालय र बीमा प्राधिकरण लगायत विभिन्न सरोकारवाला निकायमा पेश हुनेछ ।
आयोजक बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले देशमा बीमा उद्योगको प्रवर्द्धन र विकासका लागि यस खालको डिस्कोर्श आयोजना गरेको बताए । उनले नेपालको अर्थतन्त्रमा प्रत्यक्षरुपमा ७ प्रतिशतभन्दा बढीको योगदान र प्रत्यक्ष तथा अप्रत्यक्ष गरी लाखौँलाई रोजगारी दिएको क्षेत्रको दिगो विकास र स्थायित्व नै कार्यक्रम आयोजनाको मूल उद्देश्य भएको समेत बताए ।
प्रतिक्रिया