काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बैंकहरूको निष्क्रिय कर्जा बढ्दै गएको बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौं साधारणसभा बोल्दै कार्यकारी निर्देशक पौडेलले बैंकहरूको निष्क्रिय कर्जासँगै प्रोभिजन पनि बढ्दै गएको बताएका हुन् ।
पौडेलले भने, ‘बैंकहरूको निष्क्रिय कर्जा बढेर गएको छ, प्रोभिजन पनि बढ्दै गएको छ,’ बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौं साधारणमा कार्यकारी निर्देशक पौडेलले भने, ‘वित्तीय प्रणालीबाट कर्जा लिएपछि कर्जा लिने पनि जिम्मेवार हुनुपर्छ । २०८४ असारसम्म कुल कर्जाको १५ प्रतिशत कृषि, १५ प्रतिशत साना तथा मझौला व्यवसाय र १० प्रतिशत ऊर्जामा पुग्दैछ ।’
उत्पादन र उद्यम विकास गर्न ब्याज अनुदान सहित सहुलियतपूर्ण कर्जा व्यवस्था भए पनि दुई वर्षदेखि ब्याज अनुदानको रकम रोकिएको उनले जानकारी दिए । ‘१३/१४ अर्ब रुपैयाँ बराबर ब्याज अनुदानको रकम भुक्तानी हुन बाँकी छ,’ उनले भने, ‘जिल्लातिर सानो ऋण लगानी नजानुमा वित्तीय प्रणालीमा आक्रमणका घटनादेखि ऋण तिर्नु पर्दैन भन्ने लगायत अभियानले काम गरेको छ ।’
प्रतिक्रिया