लोकसेवाबाट अनुमति पाएसँगै बीमा प्राधिकरणले कार्यकारी निर्देशकको लागि खुलायो आवेदन 

लोकसेवाबाट अनुमति पाएसँगै बीमा प्राधिकरणले कार्यकारी निर्देशकको लागि खुलायो आवेदन 


काठमाडौं – नेपाल बीमा प्राधिकरणमा  निर्देशक पदमा पदपूर्ति गर्न बाटो खुलेको छ । लोकसेवा आयोगले कार्यकारी निर्देशकमा बढुवा गर्न विज्ञापन खुल्ला गर्न सहमति प्रदान गरेसँगै गत जेठदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा पदपूर्ति गर्ने बाटो खुलेको हो । 

निर्देशकका लागि पदपूर्ति गर्ने बाटो खुलेपनि  बीमा प्राधिकरणमा उप–कार्यकारी निर्देशक राख्ने प्रस्तावलाई लोकसेवा आयोगले तत्कालको लागि अस्वीकृत गरिदिएको छ। लोकसेवाको निर्णयसँगै अब प्राधिकरणको पदपूर्ति समितिको बैठक बसेर नयाँ पदपूर्तिको निर्णय कार्यान्वयन हुनेछन् । 

बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्ति छिट्टै गर्ने  प्रतिबद्धता जनाएको भोलिपल्टैबाट कार्यकारी निर्देशकको नियुक्ति प्रक्रिया सुरु गर्न लागिएको हो । योसँगै प्राधिकरणले शुक्रबार सहायक प्रथम देखि कार्यकारी निर्देशकसम्म दरखास्त आह्वान गरेको छ ।

लोकसेवा आयोगबाट प्राप्त सहमति र बीमा समिति कर्मचारी सेवा सर्त विनियमावली, २०६८ बमोजिम प्राधिकरणले कार्यक्षमताको मूल्यांकनबाट गरिने बढुवा, आन्तरिक प्रतियोगिता र खुला तथा समावेशी प्रतियोगितात्मक माध्यमबाट २५ जना पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

प्राधिकरणले कार्यकारी निर्देशक एक जनासहित निर्देशक ४ जना र उपनिर्देशक ५ जना (कानुनतर्फ २ जना) मा आवेदन खुला गरेको छ। यी पदमा कार्यक्षमताको मूल्याङ्कनका आधारमा बढुवा गरिने प्राधिकरणले जनाएको छ।