सिबिफिनको अध्यक्षमा पुनः उपेन्द्र पौड्याल

सिबिफिनको अध्यक्षमा पुनः उपेन्द्र पौड्याल


काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) अध्यक्ष पदमा उपेन्द्र प्रसाद पौड्याल पुनः दोहोरिएका छन् । झन्डै ३ दशकभन्दा लामो समय बैंकिङ्ग क्षेत्रमा बिताएका पौड्यालले आज भएकाे पाँचाैँ वार्षिक साधारण सभाबाट दाेस्राे पटक सिबिफिनको कार्यभार सम्हाल्न लागेका हुन ।

यसअघि पौड्यालले दुई वर्षे कार्यकाल पूरा गरेका थिए । सिबिफिनले साधारणसभामा आफ्नो विधान संशोधन गर्दै नयाँ कार्य समिति मनोनयन पनि गरेको छ । संस्थाको पाँचाैँ वार्षिक साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका राजेश उपाध्याय चयन भएका छन् ।

यस्तै, महासचिवमा हिमालयन बैंकका प्रचण्ड बहादुर श्रेष्ठ पनि निर्विरोध निर्वाचित भएका छन् । सचिव पदमा भने एक्सेल डेभलेपमेन्ट बैंकका महेन्द्र कुमार गोयल र साइन रेसुङ्गाका थानेश्वर पौडेलको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा एनआइसी एशिया बैंकका तुलसीराम अग्रवाल र सह–कोषाध्यक्षमा गोर्खा फाइनान्सका गौरव बुढाथोकी चयन भएका छन् ।

सदस्यहरुमा राजाराम खड्का, डा. बाल गोपाल वैद्य, लिला प्रकाश सिटौला, मनोजकुमार गोयल, चन्द्र बहादुर अधिकारी, राधेश पन्त, रमण नेपाल, सुदिप आचार्य, चिन्तामणी भट्टराई र लक्ष्मी प्रसाद महर्जन चयन भएको सिबिफिन निर्वाचन समितिले जनाएको छ ।

सिबिफिनमा समूह ‘क’ अन्तर्गत पूर्वाधार बैंकसहित वाणिज्य बैंकबाट अध्यक्ष, महासचिव र कोषाध्यक्ष १र१ जना सदस्य ७ सहित १० जना रहने व्यवस्था छ । यस्तै, समूह ‘ख’ अन्तर्गन विकास बैंकबाट वरिष्ठ उपाध्यक्ष १, सचिव १ र सदस्य २ सहित ४ जना रहने व्यवस्था छ । यस्तै समूह ‘ग’ अन्तर्गत वित्त कम्पनीबाट उपाध्यक्ष १, सहकोषाध्यक्ष १ र सदस्य १ सहित ३ जना रहने व्यवस्था छ ।