कर्णाली बैंकले आज कुन – कुन शाखाबाट बचतकर्ताको रकम फिर्ता गर्दैछ ? 


काठमाडाैं – नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकले धमाधम बचतकर्ताको रकम फिर्ता गरिरहेको छ । आर्थिक सुशासन कायम नभएको तथा खराब कर्जा ४० प्रतिशत माथि पुगेको भन्दै राष्ट्र बैंकले यही पुष १० गते समस्याग्रस्त घोषणा गरेको कर्णाली बैंकले बचतकर्ताकाे रकम फिर्ता गरिरहेको छ ।

बैंकले सूचना जारी गर्दै बचनकर्ताहरूलाई आज (पुष १८) गते बैंकको केन्द्रीय कार्यालय नेपालगन्ज, बाँके, तुलसीपुर शाखा, लमही शाखा, बाँसगढी शाखाका साथ बाँके, बर्दिया लगायतका जिल्लाका शाखाहरूबाट निक्षेप फिर्ता गर्ने भएकाे हाे ।

बैंकले हाल रहेकाे तरलतालाई मध्यनजर गर्दै बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखेर अधिकतम २५ हजारसम्म ५० जनालाई निक्षेप फिर्ता गर्ने जनाएको छ ।

राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गर्दै बैंक व्यवस्थापनको सम्पूर्ण अधिकार खोसिएको छ। राष्ट्र बैंकले व्यवस्थापन आफ्नो नियन्त्रणमा लिँदै राष्ट्र बैंकका प्रतिनिधिको रुपमा बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा उपनिर्देशक विष्णु कुमार विश्वकर्मा र कानुन महाशाखाका उपनिर्देशक जुगल किशोर कुशवाहालाई व्यवस्थापनका लागि पठाएको छ। ६ महिनासम्म सुधार नगरे समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन नियन्त्रणमा लिने चेतावनी दिएको थियो ।