‘एक्सन’मा उत्रिए प्राधिकरणका अध्यक्ष दाहाल, भने – बीमा क्षेत्र सुधारेरै छाड्छु

‘एक्सन’मा उत्रिए प्राधिकरणका अध्यक्ष दाहाल, भने – बीमा क्षेत्र सुधारेरै छाड्छु


काठमाडौं – नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बीमितहरुले समयमा नै दाबी पाउनुपर्ने बताएका छन् । बुधबार नेपाल बीमा प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले यसका लागि दाबी रकम लगायत बीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आफूले पहल गरिरहेको बताएका छन् ।

सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले भने, ‘गलत कम्पनीहरूलाई कारबाही गरी बीमितहरुलाई समयमा नै दाबीको व्यवस्था पनि गर्ने छु ।’ उनले भने, ‘बीमा क्षेत्रको लागि अन्य सुधारका काम पनि गर्दै जाने छु ।’ अध्यक्ष दाहालले ‘ऐन–नियमभन्दा बाहिर गए बनाइएका नीतिहरूलाई हाम्रो कानुन शाखामार्फत सच्चाएर एकीकृत निर्देशन बनाउने तयारी भइरहेको बताए । पत्रकार सम्मेलनमा केही पत्रकारहरूले बीमा कम्पनीहरूमा नक्कली कर्मचारीहरू कार्यरत रहेको भन्ने विषय उठान गरेकोमा यसमा प्राधिकरणले अनुसन्धान गरिरहेको दाहालले बताए।

बीमा क्षेत्रमा पछिल्लो समयमा सचेतनाको कमी हुनुमा दाबी ढिलाइ भएको उनको ठहर छ । यसमा आफ्नो कार्यकाल समयमा नै बीमा क्षेत्रमा बीमा सचेतनाको कार्यक्रमलाई  प्राथमिकता राखेको उनले बताए । ‘सर्भेयर र अभिकर्ताहरूको दक्षताको मूल्याङ्कन गरी कति जना सक्रिय रूपमा काम गरिरहेको छन् भन्ने तथ्याङ्क निकाले र मात्र रिन्यु गर्ने व्यवस्था गरिने छ ।’ उनले भने ।

पछिल्लो समयमा बीमा क्षेत्रमा जोरसोरले उठेको कुराहरूमध्ये नयाँ बीमा कम्पनीको लागि लाइसेन्सको तयारी भन्ने हल्ला उठ्दै गर्दा दाहालले यो सबै बजारमा फैलिएको झुटो कुरा रहेको उनले बताए । भएको बीमा कम्पनीहरू मर्जरमा लगेर नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने कुनै नीतिमा उल्लेख नभएको र यस्तो अस्वाभाविक कुरा आफ्नो कार्यकालमा नहुने उनले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूर्यप्रसाद सिलवालविरुद्ध नागरिक कीर्ते र भ्रष्टाचार विशेष अदालतमा मुद्दा दायर गरेपछि बीमा प्राधिकरण अध्यक्षविहीन बन्न पुगेको थियो। केही दिनपछि सरकारले अर्थ मन्त्रालयबाट बीमा प्राधिकरणको बोर्ड सदस्यका रुपमा प्रतिनिधित्व गरिरहेका सहसचिव दाहाललाई अध्यक्षमा नियुक्त गरेको हो।