काठमाडौं – सिद्धार्थ बैंकले विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएको ‘जनकपुर शाखाका शाखा प्रबन्धक अर्पणबहादुर बलम्पाकी पक्राउ’ र ‘बैंकको ऋण असुली प्रक्रियामा अनियमितता’ सम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण गरेको छ । बैंकले मंगलबार विज्ञप्ति जारी गर्दै ग्राहक, सरोकारवाला र सर्वसाधारणमा यस समाचारले भ्रम सिर्जना गरेको र सत्यतासँग मेल नखाएको जनाएको छ ।
बैंकका अनुसार क्षीरेश्वर र जनकपुर शाखाबाट ऋण लिएका ग्राहकहरूले समयमै साँवा र ब्याज भुक्तानी नगरेपछि कानुनी प्रक्रियाअनुसार धितो लिलामको प्रक्रिया अघि बढाइएको थियो । प्रक्रिया पूरा गरी सफल बोलकबोलकर्तालाई सम्पत्ति हस्तान्तरण गरिएको थियो ।
तर, केही व्यक्तिहरूले ऋणी र जमानतीसँग मिलेर विरोध जनाएका थिए । उनीहरूले पुस ११, १२ र १४ गते बैंकका कार्यालयहरूमा नाराबाजी गरी सेवा अवरुद्ध गरेका थिए । यसपछि स्थानीय सुरक्षा निकायसँग समन्वय गरी छलफलका लागि प्रहरी कार्यालयमा बैठक बसेको थियो । प्रहरी कार्यालयमा छलफलका क्रममा खिचिएको भिडियोको आधारमा शाखा प्रबन्धक पक्राउ परेको झुटो समाचार फैलाइएको बैंकले जनाएको छ ।
बैंकले यो जानकारी गलत भएको र ऋण असुली प्रक्रिया कानुनी रूपमा अघि बढाइएको स्पष्ट पारेको छ । कानुनी प्रक्रियातर्फ नगई बैंकजस्तो संवेदनशील संस्थाको सेवा नै अवरुद्ध हुने गरी वाधा व्यवधान सिर्जना गर्नु उचित नहुने बैंकको धारणा रहेको छ। साथै, बैंकजस्तो अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्थाको सेवा निर्बाध रूपमा सञ्चालन हुने वातावरण निर्माणका लागि सम्बन्धित सबैमा बैंकले अनुरोधसमेत गरेको छ ।
बैंकले विद्यमान कानुनी प्रक्रिया एवं प्रचलित बैकिङ्ग अभ्यासको पद्धति अवलम्बन गरी सम्पन्न गरेको धितो लिलामी प्रक्रियामा सम्बन्धित पक्षहरुलाई चित्त नबुझेको खण्डमा प्रचलित कानुन बमोजिम सक्षम निकाय समक्ष न्यायिक उपचारका लागि जान सकिने अवस्था सदैव रहन्छ । कानुनी प्रक्रिया तर्फ नगई बैंक जस्तो संवेदनशील संस्थाको सेवा नै अवरुद्ध हुनेगरी वाधा व्यवधान सिर्जना गर्नु उचित नहुने बैंकको धारणा रहेको छ । साथै, बैंक जस्तो अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्थाको सेवा निर्बाध रूपमा सञ्चालन हुने वातावरण निर्माणका लागि सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।
प्रतिक्रिया