निक्षेप फिर्ता रोकेर कर्णाली विकास बैंकमा केन्द्रीय बैंकले थाल्यो काम

निक्षेप फिर्ता रोकेर कर्णाली विकास बैंकमा केन्द्रीय बैंकले थाल्यो काम


काठमाडाैं -केन्द्रीय बैंकले व्यवस्थापन नियन्त्रणमा लिएर कर्णाली विकास बैंकको सुधारात्मक काम गर्न सुरु गरेको छ । राष्ट्र बैंकबाट गएका प्रतिनिधिले कर्णाली विकास बैंकको व्यवस्थापनमा काम थालेका हुन् । उनीहरूले सर्वसाधारणको निक्षेप भुक्तानीका लागि केही समय रोकेर काम अगाडि बढाउन लागेका हुन् । बैंकले आज निक्षेप फिर्ता रोकेको हो। बैंकले आज भुक्तानी लिन नआउन सर्वसाधारणलाई सूचना गरेको छ।

राष्ट्र बैंकका प्रतिनिधिले व्यवस्थापन समूहबाट तरलता व्यवस्थापनका विभिन्न विकल्पमा काम गरिरहेको जनाइएको छ। निक्षेप भुक्तानी पहिलो प्राथामिकतामा राखेर सुधारात्मक कार्य सुरु गरेको बैंकले पैसाको जोहो गरेर पुनः भुक्तानी सुरु गर्नेछ। राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिको पुष १० गते आज बसेको बैठकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम सो बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको हो ।

केन्द्रीय बैंकले अर्को व्यवस्था नभएसम्मका लागि ऐनको दफा ८६ ग बमोजिम बैंकको व्यवस्थापन नेपाल राष्ट्र बैंकको नियन्त्रणमा लिएको जनाएको छ । उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप–निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिए राष्ट्र बैंकले जनाएको छ ।

समूहमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप–निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप–निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको छ । केन्द्रीय बैंकले व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको अडिट सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरेको छ ।

कर्णाली डेभलपमेन्ट बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ्ग प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न संस्थालाई समस्याग्रस्त घोषणा गरी यस बैंकको नियन्त्रणमा लिएको हो ।

यसअघि कर्णाली डेभलपमेन्ट बैंकले न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०. ८५ प्रतिशत रहेको लगायतका कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको भन्दै राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको थियो।