सरसापट गरेर भए पनि कर तिर्न सरकारको निर्देशन, व्यवसायी आक्रोशित

सरसापट गरेर भए पनि कर तिर्न सरकारको निर्देशन, व्यवसायी आक्रोशित


बैकिङ्ग समाचार । 

सरकारले लक डाउनकैबीचमा पनि कर तिर्न ताकेता गरेपछि व्यवसायीहरु आक्रोशित भएका छन् । आन्तरिक राजश्व विभागले एक सूचना जारी गर्दै लक डाउनकै बीचमा व्यवसायीलाई कर बुझाउन ताकेता गरेपछि उनीहरु आक्रोशित भएका हुन् । 

कोरोनाविरुद्धको लडाईका लागि भन्दै सरकारले जारी लकडाउन जेठ मसान्तसम्म लम्ब्याएको छ । तर राजस्व विभागले जेठ २५ गतेभित्र सम्पूर्ण कर विवरण तथा कर बुझाउन ताकता गर्दै अन्यथा जरिबाना लाग्ने सूचना निकालेपछि व्यवसायीहरुमा छटपटाहट पैदा भएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले अहिले कर तिर्न सक्ने अवस्थामा व्यापारीहरु नरहेको बताउनुभयो । उहाँले लकडाउनका बेला सरकारले कर माग्ने, घरधनीले भाडा माग्ने, बैंकहरुले ब्याज र किस्ता माग्ने गरेपछि व्यवसायीहरुमा संकट पैदा भएको बताउनुभयो । सरकारले व्यवसायीका पिर मर्का बुझ्नुपर्ने उहाँले माग गर्नुभयो ।

अध्यक्ष कटुवालले सरकारले करका लागि ताकेता गरिरहे व्यवसायीहरुले सटरका तालाचाभी नै सरकारलाई बुझाउने चेतावनी दिनुभयो । 

अहिले व्यापार व्यवसाय सबै ठप्प रहेका बेला व्यापारीलाई निचोरेर केही नझर्ने उहाँको जिकिर छ । सरकारले कर तिरेन भन्दै थुन्न खोजे पनि व्यवसायीहरु त्यसका लागि विवश हुने परिस्थिति रहेको अध्यक्ष कटुवालले बतउनुभयो।

तर यता सरकारले भने व्यवसायीहरुले कर तिर्नुको विकल्प नरहेको बताएको छ । अहिले लकडाउन अगावैको कर तिर्न व्यवसायीहरुलाई ताकेता गरेको अर्थमन्त्रालयले जनाएको छ । अर्थमन्त्री युवराज खतिवडाका प्रेस सल्लाहकार यमन पौडेलले खानाका लागि पैसा छैन भनेर कोही भोकै नबस्ने उदाहरण दिँदै सरसापट गरेर भए पनि व्यापारीले कर तिर्नपर्ने स्पष्ट पार्नुभयो । उहाँले लकडाउन अगावैको कर राज्यलाई बुझाउनु भनेको कुरा बिर्सन नहुने बताउनुभयो ।

व्यवसायीहरुले लकडाउनका बेला बैंकसम्म पुग्न समेत नसकिने भन्दै अहिले करका लागि ताकेता गर्ने सरकारको निर्णयको विरोध गरिरहेका छन् । तर अर्थमन्त्रीका प्रेस सल्लाहकार पौडेलले कर तिर्न जाने व्यक्तिलाई पासको व्यवस्था सरकारले मिलाइसकेको बताउनुभयो । यसका साथै डिजिटल भुक्तानी प्रणाली समेत रहेकोले अनावश्यक बहाना बनाउन नहुने उहाँले बताउनुभयो ।

झण्डै ढाई महिनादेखि जारी लकडाउनका कारण व्यापार व्यवसाय ठप्प रहेका बेला राज्यले कर तिर्न ताकेता गरेपछि निजी क्षेत्रबाट त्यसको विरोध भइरहेको छ । यसका साथै राजधानी काठमाडौँसहित कतिपय स्थानमा व्यापार व्यवसाय सुचारु गर्न माग राख्दै व्यापारीहरु प्रदर्शनमा समेत उत्रेका छन् । 

लकडाउनको इमानदारीताका साथ पालना गरेका व्यापारीहरु करका लागि सरकारले, किस्ता र व्याजका लागि बैंकले र भाडाका लागि घरधनीले सताउन थाले पछि अब भने लकडाउन खुकुलो पार्नुपर्ने आवाज उठाउन थालेका छन् । आफूहरुको धैर्यताको बाँध फुट्न थालेको व्यवसायीहरुको भनाई छ ।