काठमाडौं – नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक राजेन्द्रसिंह भण्डारीले बैंकरलाई ऋण दिँदा घुस नखानु भनेपछि अभिव्यक्तिलाई लिएर बैंकिङ्ग क्षेत्रमा चौतर्फी चर्चा सुरु भएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको छाता संगठन नेपाल बैंकर्स संघको कार्यक्रममा नै उनले बैंकरहरुले कर्जा प्रवाह गर्दा घुस नखानु भन्नुले बैंकरहरुले कर्जा प्रवाह गर्दा घुस खान्छन् भन्ने किसिमको देखिएको अधिकांशको बुझाई छ ।
कुनै समय बैंकका सीईओ समेत रहेका भण्डारीले भने, ‘बैंकरहरुले गर्नैपर्ने काम भनेको एक आफूले आफैलाई ऋण नदिने, अर्कोलाई ऋण दिँदा खस्रो भाषामा भन्दा घुस नखाने, ग्राहक असल हुनुपर्ने, ग्राहकको कमाई असल हुनुपर्ने र उसको धितो असल हुनुपर्ने छ ।’ उनले विगतमा बैंकरहरुले विभिन्न सिद्धान्त नमान्दा जेल जानुपर्ने सम्मको स्थिति सिर्जना भएको बताएका हुन् ।
भण्डारीले बैंकिङ्ग समाचारसँग सकारात्मक पक्षबाट नै बैंकरहरुलाई कर्जा प्रवाह गर्दा घुस नखान आग्रह गरेको बताए । भण्डारीले बैंकरलाई सधैँ मानसिक त्रास हुने गरेको पनि बताएका छन् ।
बैंकरले ऋण दिँदा घुस खान्छन् ?
भण्डारीले बैंकरहरु कै कार्यक्रममा घुस नखानु भनेपछि बैंकरले ऋण दिँदा घुस लिने गरेको जस्तो देखिएको छ । बैंकमा सीईओ समेत भएर काम गरेका भण्डारीले घुस नलिई कर्जा प्रवाह गर्नु भन्दै असल धितोमा कर्जा प्रवाह गर्नुपर्ने पनि बताएका थिए । उनले यो भनाइले बैंकरहरुले घुस लिँदै गर्दा धितो पनि असल नलिने गरेको हो कि भन्ने किसिमको देखिएको हो ।
पूर्व बैंकर भुवन दाहाल पनि बैंकमा कतिपय कर्मचारीले घुस खाने गरेको पाइने बताउँछन् । ‘घुस खाएको कारण म सीईओ हुँदा पनि कर्मचारीलाई कारबाही गरेको छु,’ बैंकिङ्ग समाचारसँग उनले भने, ‘अन्य क्षेत्रसँग तुलना चाहिँ गर्न मिल्दैन तर बैंकमा पनि घुस खाने व्यक्तिहरु चाहिँ छन् ।’ दाहालले सबै क्षेत्रमा सबै मान्छे राम्रो व्यवहारको मात्रै नहुने भन्दै बैंकिङ्ग क्षेत्रमा पनि बद्मास मान्छे रहेको बताए । उनले कर्जा दिँदा घुस लिने बैंकरहरु पनि रहेको दाबी गरे ।
बैंकरले कामको उचित पारिश्रमिक प्राप्त नगर्दा वा पैसाको आवश्यकता परेको समयमा खर्च टार्न घुस लिने गरेको पाइन्छ । बैंकर कहिलेकाहीँ अरूको दबाबमा परेर पनि घुस लिने गरेको पाइन्छ । यता नेपाल राष्ट्र बैंक भने बैंकहरुमा बढी निरीक्षण हुने गर्दा घुस लिने अवसर नमिल्ने बताउँदै आएको छ ।
केन्द्रीय बैंकका एक कार्यकारी बैंकरहरुले घुस नलिने बताउँछन् । उनले बैंकहरुले आफ्नो हरेक त्रैमासमा केन्द्रीय बैंकमा रिपोर्ट पेस गर्नुपर्ने हुँदा पनि बैंकरहरुले घुस लिने अवसर नपाउने दाबी गरेका हुन् ।
प्रतिक्रिया