सहयोगी विकास बैंकको साधारण सभा शनिबार, सिटिजन्स बैंकसँग विलय हुने प्रस्ताव

सहयोगी विकास बैंकको साधारण सभा शनिबार, सिटिजन्स बैंकसँग विलय हुने प्रस्ताव


बैकिङ्ग समाचार ।

 सहयोगी विकास बैंकले जेठ २४ गते शनिबार १६ औं वार्षिक साधारण सभा बोलाएको छ । सिटिजन्स बैंक इन्टरनेशनलमा विलय हुन लागेको बैंकले सो प्रस्ताव लगाएत विविध प्रस्ताव पारित गर्न सभा बोलाएको हो । यस अघि चैत १० गतेका लागि तय गरिएको सभा कोरोना संक्रमणका कारण रोकिएको थियो । बैंकको केन्द्रिय कार्यालय जनकपुरधाम , धनुषामा दिनको २ बजे आयोजना हुने सभाले सिटिजन्स बैंकसँग बिलय हुने प्रस्ताव सहित गत वर्षको सञ्चित मुनाफाबाट प्रस्तावित १८ दशमलव ७२ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ ।

सहयोगी विकास बैंक आफ्नो १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनलको ९१ दशमलव ७५ कित्ता शेयर आदान प्रदान अनुपात कायम गर्ने गरि बिलय हुने लागेको हो । यी दुबै कम्पनीविच गत असार २२ गते प्राप्ती सम्बन्धी सम्झौता भएको थियो । उक्त सम्झौतालाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरिसकेकाले अन्तिम सम्झौताका लागि सभा मार्फत प्रस्ताव पारित गर्न लागिएको हो । प्राप्ती गर्ने प्रयोजनका लागि सहयोगीको शेयर कारोबार गत असार २३ गतेदेखि बन्द रहेको छ ।

उता, सिटिजन्स बैंक इन्टरनेशनलले भने सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने प्रस्ताव जेठ २७ गते विशेष साधारण सभा मार्फत पारित गर्नेछ ।   सिटिजन्सको पनि कोरोनाका कारण यस अघि चैत १० गते हुन नसकेको पाँचौ विशेष साधारण सभा हुन लागेको हो । लकडाउनकै विच पनि विशेष सावधानी अपनाएर सभा गर्ने तयारी बैंकहरुको छ । सिटिजन्सले प्रधानकार्यालय दरबारमार्ग, काठमाडौंमा विहान ११ बजेका लागि तय गरिएको सभाले प्राप्ती सम्बन्धी विविध विषयमा छलफल गर्नेछ । 

सहयोगी विकास बैंकलाई प्राप्ती गरेपश्चात सिटिजन्स बैंक इन्टरनेसनलको जारी तथा चुक्तापूँजी साविकको  ८ अर्ब ६२ करोड २१ लाख ९६ हजार रुपैयाँदेखि बृद्धि भई ९ अर्ब ८ करोड ९८ लाख १७ हजार रुपैयाँ पुग्नेछ । चुक्ताूपूँजी बृद्धि हुने भएकाले आगामी सभाले सोही बमोजिम हुने गरि बैंकको प्रबन्धपत्र संशोधन समेत गर्नेछ । हाल सहयोगी विकास बैंकको चुक्तापूँजी ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको जगेडा कोषमा १२ करोड २५ लाख ७९ हजार रुपैयाँ छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सहयोगी विकास बैंकले  ९ करोड २२ लाख ८२ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो बैंकको प्रतिशेयर आम्दानी २४ दशमलव १४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ  १६७ दशमलव ५३ रुपैयाँ छ ।

सिटिजन्स बैंकले भने तेस्रो त्रैमाससम्म  १ अर्ब ९ करोड १२ लाख ४५ हजार रुपैयाँ खुद नाफा गरेको छ । तेस्रो त्रैमाससम्ममा बैंकको वितरण योग्य मुनाफा ४१ करोड ९ लाख ६५ हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा ३ अर्ब ४९ करोड ३३ लाख ६७ हजार रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म बैंकको प्रति शेयर आम्दानी  १६ दशमलव ८७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ दशमलव ७७ रुपैयाँ रहेको छ ।