काठमाडौं –अब बीमा कम्पनीहरूले दाबी रकम डिजिटल माध्यममार्फत सीधै बीमितको बैंक खातामै जम्मा गर्नुपर्ने भएको छ। नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार अब कम्पनीहरूले बैंक खातामा दाखिला हुने गरी डिजिटल माध्यम प्रयोग गरी बीमा भुक्तानी गर्नुपर्नेछ।प्राधिकरण सञ्चालन समितिको पुस ४ गतेको निर्णयबमोजिम सो व्यवस्था लागू गर्न निर्देशन दिएको हो ।
याे व्यवस्था लागू भएसँगै जीवन बीमकले दावी भुक्तानी बापत बीमित वा हकवालालाई कानुन बमोजिम भुक्तानी गर्नुपर्ने रकम बीमित वा हकवालाको खातामा दाखिला नगरी अन्य बीमालेख जारी वा समायोजन गर्ने पाइने छैन।
निर्देशनअनुसार अब बीमालेखअनुसार बीमा दाबीको दायित्व यकिन भएपश्चात् सो पूरा रकम अनिवार्य रूपमा कानुनबमोजिम भुक्तानी प्राप्त गर्ने पक्ष (बीमित) को बैंक खातामा दाखिला हुने गरी डिजिटल माध्यम प्रयोग गरी बीमा कम्पनीहरूले भुक्तानी गर्नुपर्नेछ।
यसैगरी बीमकले बीमा दाबी निवेदन प्राप्त भएपश्चात् सोको दर्ता गरी यथाशीघ्र बीमितलाई एसएमएसमार्फत गराउनुपर्ने निर्णय पनि प्राधिकरणले गरेको छ । निर्जीवन बीमाको क्षति मूल्याङ्कन गर्न सर्भेयर खटाउँदा सोको जानकारी एसएमएसमार्फत बीमितलाई गराउन र बीमकले सर्भे प्रतिवेदन प्राप्त भएपश्चात् सोको समेत जानकारी एसएमएसमार्फत बीमितलाई दिनुपर्ने व्यवस्था प्राधिकरणले गरेको छ।
प्रतिक्रिया