कास्की अदालतमा रवि लामिछानेको बयान थालियो

कास्की अदालतमा रवि लामिछानेको बयान थालियो


काठमाडाैं – कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ । पोखराको सूर्यदर्शन सहकारीमा भएको रकम अपचलनसम्बन्धी दायर मुद्दामा उनको बयान सुरु भएको हो । लीला पछाइको बयान सकिएपछि लामिछानेकाे बयान सुरू भएकाे हाे ।

उक्त मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीको बयान मङ्गलबार सकिएपछि सोही दिनदेखि पछाइको बयान सुरु गरिएको थियो । बुधबार सार्वजनिक बिदाका कारण बयान रोकिएपछि आजदेखि पुनः उनको बयान सुरु भएको कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिए। यस्तै, लामिछानेसँगै खनाल, जोशी र पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

उनीमाथि कास्कीसहित अन्य जिल्लामा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । तत्कालीन समयमा आफू सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा सहकारीको बचत रकम गोर्खा मिडिया नेटकर्वमा ल्याई अपचलन गरेको आरोप रास्वपा सभापति लामिछानेमाथि लागेको छ ।

नेपाल प्रहरीका पूर्वडीआइजी जोशीलाई गत असोज छ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान हुँदै आएको थियो । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जिबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।