राष्ट्र बैंकले ४० अर्ब तान्न खोज्दा बैंकहरु १९ अर्ब मात्रै राख्न तयार

राष्ट्र बैंकले ४० अर्ब तान्न खोज्दा बैंकहरु १९ अर्ब मात्रै राख्न तयार


काठमाडौं – नेपाल राष्ट्र बैंकले ४० अर्ब खिच्न खोज्दा बैंक तथा वित्तीय संस्थाहरुले १९ अर्बको लागि मात्रै आवेदन दिएका छन् ।पुस ९ गते राष्ट्र बैंकले बजारबाट ४० अर्ब खिच्नको लागि प्रस्ताव आह्वान गर्दा बैंकहरुले १९ अर्ब २५ करोड रूपैयाँको लागि मात्र बोलकबोल गरेका हुन् । 

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले १२ दिनको लागि आज निक्षेप संकलन बोलकबोल उपकरण मार्फत ४० अर्ब रकम खिच्नको लागि सूचना जारी गरेको थियो ।

यस बोलकबोलमा ९ वटा बैंक तथा वित्तीय संस्था सहभागी भएर १५ वटा प्रस्ताव परेको राष्ट्र बैंकले जनाएको छ। बैंकहरुले १९ अर्ब २५ करोड प्रस्ताव गरेपनि केन्द्रीय बैंकले १९ अर्ब २० करोड निक्षेप संकलन गरेको छ ।

बैंकहरुले अधिकतम ३ प्रतिशत र न्युनतम २. ८९२५ प्रतिशत ब्याजमा सो रकम राख्न प्रस्ताव गरेका थिए । कात्तिक २५ गतेको नियमित ५० अर्बको निक्षेप बोलकबोलमा बैंकहरुले ५९ अर्ब ६५ करोड रुपैयाँ राख्ने चाहा गरेका थिए । त्यसप्रश्चात् केन्द्रीय बैंकले १ खर्ब ९० अर्बको लागि कबोल माग गरे पनि बैंकहरुले मात्रै ६७ अर्ब २५ करोडको मात्र कबाेल गरेका छन् ।