रवि लामिछानेसहित ७ जनालाई अदालत उपस्थित गराइयो, बयान जारी

रवि लामिछानेसहित ७ जनालाई अदालत उपस्थित गराइयो, बयान जारी


काठमाडौं – पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित सात जनालाई अदालत उपस्थित गराइएको छ । लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लिला पछाईं, पूर्वसञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ र पूर्वसञ्चालक समिति उपाध्यक्षसमेत रहेकी पूर्वसांसद मीना गुरूङलाई अदालत उपस्थित गराइएको हाे ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएकी पूर्वप्रदेश सभा सदस्य तथा नेकपा एमालेकी नेतृ मीना गुरुङ पक्राउ परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार साँझ गुरुङलाई पक्राउ परेकी हुन् । रविसहितलाई आइतबार थप अभियोजन दर्ता भएपछि सोमबारदेखि बयान सुरू भएको हो । न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लामासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।