धितोपत्र ब्रोकरको सुधार नगरी नयाँ थप्ने बोर्डको निर्णयमा अर्थ समितिको चासो

धितोपत्र ब्रोकरको सुधार नगरी नयाँ थप्ने बोर्डको निर्णयमा अर्थ समितिको चासो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले ३ वर्गका नयाँ धितोपत्र दलाल थप्ने निर्णय गरेपछि व्यवस्थापिका संसदको अर्थ समितिले समेत चासो देखाएको छ । बोर्डले हाल सञ्चालनमा रहेका ब्रोकरको स्तरोन्तनी तथा सुधार नगरी अत्याधिक पुँजीको व्यवस्था गर्दै नयाँ थप्ने निर्णय गरेपछि समितिले सोधपुछ थालेको हो ।

धितोपत्र बोर्डले हालका ब्रोकर कम्पनीको सुधारका लागि चालिएका कदम र भएका सुधारको विवरण बारम्बार माग गर्दा पनि बेवास्था गर्दै आएको थियो । बोर्डले अर्थ समितिले मागेको विवरणको जवाफ समेत नदिई एकाएक अधिक पुँजी आधार कायम गरेर नयाँ धितोपत्र दलाल कम्पनी थप गर्ने निर्णय नै गराइसकेको छ ।

धितोपत्र दलाल कम्पनीको संख्या वृद्धि गर्नु भन्दा अघि धितोपत्र बोर्डको संस्थागत क्षमता अभिवृद्धी तथा हालका धितोपत्र दलाल कम्पनीको स्तारोन्नती र कार्यक्षेत्र विस्तार गर्न भनेर व्यवस्थापिका संसदको अर्थसमितिले सिफारीस गरेको थियो । तर, समितिले सो अनुसार काम भए नभएको विवरण माग गर्दा समेत कुनै जवाफ नदिई नयाँ ब्रोकर थप गर्ने निर्णय उपर छलफल हुने अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले बताए । “धितोपत्र बोर्डको निर्णयले धितोपत्र बजारको सुधार हुन्छ भन्नेमा समितिलाई बुझाउनु पर्छ,” उनले भने, “नत्र सीमित व्यक्ति तथा समुहको स्वार्थ पुर्ति गर्न तथा बजारको अवस्था हालको भन्दा खराब बन्ने हो कि भन्ने चासो समितिको रहन्छ नै ।”

बोर्डको निर्णयले कार्टेलिङग गर्नेहरुका निम्ती फाइदा नै फाइदा र सर्वसाधारणका लागि मर्कै मर्का पर्ने नयाँ ब्रोकर ल्याउन थालेको हो कि होइन भन्ने विषयमा समितिले छलफल गर्ने दाहालको भनाई छ । “कोही सरोकारवाला संग सल्लाह तथा छलफल नै नगरी बोर्डले गरेको निर्णयमा समिति पनि आश्चर्य चकित छ,” उनले भने,“यसले अहिलेको भन्दा पनि मजबुत कार्टेलिङग हुने अवस्था आउनेमा समिति सचेत छ ।”

अर्थ समितिले २०७६ मा उप समिति गठन गरी पुँजी बजार र मुद्रा बजार सम्बन्धी अध्ययन गराएको थियो । सो अध्ययन प्रतिवेदन अनुसार समितिले अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डलाई सिफारीस पनि गरेको थियो । समितिले धितोपत्र दलाल कम्पनीलाई स्टक डिलरसीप, एडभाइजरी तथा प्रोप्राइटरीको काम गर्न दिन सिफारीस समेत गरेको थियो । समितिले गरेको सिफारीस अनुसार कुनै पनि काम नगरी बोर्डले नयाँ ब्रोकर थप्ने निर्णय गर्नु तर्क संगत देखिदैन । बोर्डले समितिले सिफारीस मात्र नभई आफैले सैद्धान्तिक सहमति दिइसकेका शाखा कार्यालयको अनुमती समेत रोकेर त्यस्तो निर्णय गरेको हो ।

धितोपत्र बोर्डको बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को संशोधन प्रस्ताव स्वीकृत गर्दै दलाल कम्पनीको वर्गिकरण अनुसार पुँजी तथा कार्यक्षेत्र निर्धारण गरेको हो । बोर्डको सञ्चालक समितिले स्विकृत गरेको उक्त प्रस्ताव मन्त्री परिषदको निर्णयार्थ बुधबार अर्थमन्त्रालय पठाइसकेको धितोपत्र बोर्डका एक अधिकारीले जानकारी दिए।

बोर्डले स्वीकृत गरेको नियमावलीको संशोधन प्रस्ताव अनुसार धितोपत्र दलाल कम्पनीलाई ३ तहमा वर्गिकरण गर्दै सीमित सेवा दिने ब्रोकर कम्पनीका लागि २० करोड मार्जिन ल्याण्डिङ तथा निक्षेप सदस्याको सेवा सहित धितोपत्र कारोबारको काम गर्ने ब्रोकरका लागि ६० करोड र धितोपत्रको किनबेच तथा धितोपत्र व्यापारीको काम गर्ने धितोपत्र दलाल कम्पनीका लागि एक अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी तोकिएको छ ।

बोर्डले अर्थ समितिको सिफारीस तथा माग गरेको विवरण पनि नदिई एक पक्षिय रुपमा निर्णय गरेको देखिन्छ । त्यतीमात्र नभई व्यवसायीक समुदायले मात्र लगानी गर्न सक्ने गरी धितोपत्र दलाल थप्ने निर्णयले आगामी दिनमा धितोपत्र बजारलाई झनै साँघुरो बनाउने निश्चत छ ।