बैंकिङ्ग समाचार, काठमाडौं ।
बीमा समितिले बीमा कम्पनीहरूको लेखापरीक्षणको विश्वसनीयता एंवम गुणस्तर अभिवृद्धिका लागि एनएफआरएस कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको संयुक्त आयोजनामा बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणसँग सम्बन्धित समसामयिक विषयमा भएको अन्तरक्रियामा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूको लेखा तथा लेखापरीक्षणको विश्वसनीयताका लागि गुणस्तर अभिवृद्धि एनएफआरएसको कार्यान्वयन गर्न निर्देशन दिएका हुन ।
साथै उनले बीमा कम्पनीहरुको लेखापरीक्षणको विश्वसनीयता तथा गुणस्तर अभिवृद्धिका लागि जनशक्ति विकास, नयाँ प्रविधि अवलम्बन लगायतका विषयमा नियामक निकायहरू लगायत सम्बद्ध पक्षहरूको सहभागितामा एक कमिटी गठन गरी अगाडि बढ्नका लागि आवश्यक सहयोग गर्न समिति तयार रहेको बताए।
अध्यक्ष सिलवालले बीमा क्षेत्रमा आर्थिक पारदर्शिता, जनताप्रतिको उत्तरदायित्व र विश्वसनीयता बढाउनका लागि समितिले आईक्यानसँग सहकार्य शुरू गरेको र यो सहकार्य निरन्तर अगाडि बढ्ने बताए ।
अध्यक्ष सिलवालल भने, “बीमा समिति र आईक्यानसँग मिलेर बीमा क्षेत्रमा आर्थिक पारदर्शिता उजार गर्न खोजिएको छ । जनताको रकम लिएर जोखिम बहन गरेपछि जनताप्रति जवाफदेही बन्नै पर्छ । जहिले पनि जनताको हित सर्वोपरी हुनुपर्छ । लेखापरीक्षण प्रतिवेदनबाट कम्पनीको वित्तीय अवस्था देखिने भएकाले आर्थिक वर्ष समाप्त भएपछि हिसावकिताव सार्वजनिक गर्नै पर्छ र कानूनले तोकेको मितिमा लेखापरीक्षण प्रतिवेदन समितिमा बुझाउनै पर्छ । केही कठिनाई भए पनि अन्तर्राष्ट्रिय विश्वसनीयताका लागि एनएफआरएस १७ कार्यान्वयन गर्नै पर्छ ।”
बीमा कम्पनीहरूको लेखापरीक्षणको गुणस्तर अभिवृद्धि, नेपाल वित्तीय प्रतिवेदन मान–१७ को कार्यान्वयन, नयाँ प्रविधि अवलम्वन र जनशक्ति विकास लगायतका विषयमा बीमा समिति र आईक्यान लगायत बीमा क्षेत्रसँग सम्वद्ध संघ संस्थाहरू आपसी सहयोग एवम् सहकार्यका साथ अगाडि बढ्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ ।
आइक्यानका अध्यक्ष युद्धराज ओलीले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम बीमा कम्पनीहरूको लेखापरीक्षणको गुणस्तर अभिवृद्धि, एनएफआरएसको कार्यान्वयन लगायतका विषयमा समन्वय एवम् सहकार्यका साथ अगाडि बढ्न आइक्यान तयार रहेको बताए ।
कार्यक्रममा आईक्यानका कार्यकारी निर्देशक सञ्जय कुमार सिन्हाले आईक्यानका काम कारवाही र निकायमकीय भूमिका, बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमा समितिका काम कारवाही र नियामकीय भूमिका तथा आईक्यानका परिषद् सदस्य प्रवीण कुमार झाले बीमा कम्पनीहरूमा लेखा तथा लेखापरीक्षणमा देखिएका चुनौतीहरू सम्बन्धी छुट्टा छुट्टै कार्यपत्रहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश कुमार लाल, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, जीवन वीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ, आईक्यानका पदाधिकारी, विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा वित्त विभाग प्रमुखहरू लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया