सिद्धार्थ बैंकले वार्षिक साधारण सभा बोलायो, के–के छन् मुख्य एजेन्डा ?

सिद्धार्थ बैंकले वार्षिक साधारण सभा बोलायो, के–के छन् मुख्य एजेन्डा ?


काठमाडौं – सिद्धार्थ बैंकले २३ औँ वार्षिक साधारण सभा बाेलाएकाे छ । बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा पुस २८ गते काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १०ः३० बजेबाट सुरु गर्ने निर्णय गरेकाे हाे ।

सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश (करसहित) पारित गर्नेछ। सभाले आगामी ४ वर्षका लागि संस्थापक समूहबाट ३ जना सञ्चालक तथा सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ।

सभाले प्रतिशेयर १०० रुपैयाँ अङ्कित दरका ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ‘एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ नियमनकारी निकायको स्वीकृतिपश्चात जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

अग्राधिकार शेयर जारीपछि बैंकको पुँजी वृद्धि गर्नुपर्ने भएकोले हालको अधिकृत पुँजी १६ अर्ब रुपैयाँलाई वृद्धि गरी २० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव र जारी पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँलाई वृद्धि गरी १७ अर्ब ५८ करोड ९९ लाख ८० हजार १८५ रुपैयाँ कायम गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

अग्राधिकार शेयर जारी गर्न नियमनकारी निकायहरूबाट प्रबन्ध पत्र र नियमावलीमा रहेको हालको व्यवस्थामा आवश्यक थप संशोधन वा परिमार्जन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।

लाभांश र वार्षिक साधारण सभा प्रयोजनार्थ बैंकले पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । सभामा पुस १४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।