काठमाडौं – पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा ल्याइएको छ । आज मुद्दा दर्ता हुने भएकाले उनलाई जिल्ला अदालत ल्याइएकाे हाे ।
लामिछानेसँगै बाँकी ५ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो । आज रवि लामिछाने, पूर्वसञ्चालक छविलाल जोशी, जीबीका साझेदार नेचर हर्बस्का सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङविरूद्ध मुद्दा गर्न लागिएकाे हाे ।
पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा सरकारी वकिलको कार्यालयले शुक्रबार ग्यालेक्सी फोरके टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । बाँकी प्रतिवादीविरुद्ध आज मुद्दा गराउने तयारी गरिएको हो ।
सहकारी ठगीबारे छानबिन गर्न एमाले सांसद सूर्य थापाको संयोजकत्वमा प्रतिनिधिसभामा गठित संसदीय विशेष छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए । सो प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा गएपछि सूर्यदर्शनकै बचत ठगी प्रकरणमा गत असोज ६ गते पूर्वडिआइजी छविलाललाई काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।
प्रतिक्रिया