पोखरा – सहकारी ठगी प्रकरणमा पक्राउ परेका जीबी राईसहित १९ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीले शुक्रबार पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका र पक्राउ पूर्जी जारी भएका गितेन्द्रबाबु राई ( जीबी)सहित १९ जनालाई पहिलो चरणमा मुद्दा दर्ता गरेको हो।
अहिले प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालिन एमडी रवि लामिछाने, पूर्वसञ्चालक छविलाल जोशी, जीबीका साझेदार नेचर हर्बस्का सञ्चालक रामबहादुर खनाल, लिला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङको मुद्दा भने आइतबार दर्ता हुने बताइएको छ ।
प्रतिवेदनमा प्रहरीले रविसहित, गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलगायत व्यक्तिविरुद्ध १ अर्ब ५१ करोड बिगो माग दाबी गर्नुपर्ने राय दिएको छ । प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो । चार दिनको म्याद आज शुक्रवार मध्यराति १२ बजेपछि सकिँदैछ ।
सहकारी ठगीबारे छानबिन गर्न एमाले सांसद सूर्य थापाको संयोजकत्वमा प्रतिनिधिसभामा गठित संसदीय विशेष छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए । सो प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा गएपछि सूर्यदर्शनकै बचत ठगी प्रकरणमा गत असोज ६ गते पूर्वडिआइजी छविलाललाई काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।
प्रतिक्रिया