काठमाडाैं – सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
सभापति रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय, कास्कीले गत सोमबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा प्रहरीले रविसहित, गोरखा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलगायत व्यक्तिविरुद्ध १ अर्ब ५१ करोड बिगो माग दाबी गर्नुपर्ने राय दिएको छ । प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो ।
चार दिनको म्याद आज शुक्रवार मध्यराति १२ बजेपछि सकिँदैछ । सोही कारण शनिबार सार्वजनिक बिदा हुने भएकाले सकेसम्म आज वा आइतबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी छ ।
सहकारी ठगीबारे छानबिन गर्न एमाले सांसद सूर्य थापाको संयोजकत्वमा प्रतिनिधिसभामा गठित संसदीय विशेष छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए । सो प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा गएपछि सूर्यदर्शनकै बचत ठगी प्रकरणमा गत असोज ६ गते पूर्वडिआइजी छविलाललाई काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो ।
प्रतिक्रिया