वाणिज्य बैंकहरुको कुल सम्पत्ति बढ्यो, कति पुग्यो ?


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ काे कात्तिक मसान्तसम्मको अवधिमा वाणिज्य बैंकहरूको कुल सम्पत्ति बढेको छ । समीक्षा अवधिमा गत आर्थिक वर्षको तुलनामा चालु आवमा बैंकहरूकाे सम्पत्तिमा ११.२८ प्रतिशतको वृद्धि देखिएको हो । चालु आवको कात्तिक मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकको कुल सम्पत्ति ७४ खर्ब ६८ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ पुगेको छ। गत आवको तुलनामा सो अवधिमा बैंकहरुको सम्पत्ति ७ खर्ब ५७ अर्ब ४४ करोड ९ लाख रुपैयाँ थपिएको छ ।

समीक्षा अवधिमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये १९ वटाकाे कुल सम्पत्ति बढ्दा एनआईसी एशिया बैंकको घटेको छ । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा सो बैंकको सम्पत्ति १२.२७ प्रतिशतले घटेर ३ खर्ब ९२ अर्ब ८६ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको कुल सम्पत्ति ४ खर्ब ४७ अर्ब रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा सबैभन्दा धेरै सम्पत्ति ग्लोबल आइएमई बैंकको रहेको छ। यस अवधिमा बैंकको कुल सम्पत्ति १४.८४ प्रतिशतले बढेर ६ खर्ब ४९ करोड ९७ लाख ५४ हजार रुपैयाँ पुगेकाे छ। त्यस्तै, धेरै सम्पत्ति हुनेमा दोस्रोमा नबिल बैंक रहेकाे छ। हाल बैंकसँग ६ खर्ब ६ अर्ब ६० करोड ५४ लाख रुपैयाँको सम्पत्ति रहेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कुन सम्पत्ति ५ खर्ब ८० अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ५ खर्ब २० अर्ब ६३ करोड, कुमारी बैंकको ४ खर्ब ७७ अर्ब, लक्ष्मी सनराइज बैंकको ४ खर्ब १७ अर्ब, हिमालयन बैंकको ३ खर्ब ९६ अर्ब, प्रभु बैंकको ३ खर्ब ७९ अर्ब, कृषि विकास बैंकको ३ खर्ब ६६ अर्ब र नेपाल बैंकको ३ खर्ब ६४ अर्ब रुपैयाँ रहेको छ।

यसैगरी सिद्धार्थ बैंकको ३ खर्ब २१ अर्ब, एनएमबि बैंकको ३ खर्ब २० अर्ब, प्राइम बैंकको ३ खर्ब, एभरेष्ट बैंकको २ खर्ब ९१ अर्ब, सानिमा बैंकको २ खर्ब ४५ अर्ब, सिटिजन बैंकको २ खर्ब ३६ अर्ब, नेपाल एसबीआई बैंकको २ खर्ब ३१ अर्ब, माछापुच्छ्रे बैंकको २ खर्ब ४ अर्ब स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ खर्ब ६३ अर्ब १ करोड रुपैयाँ छ ।