काठमाडौं – नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालको बैंकिङ्ग क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट रहेको दावी गरेका छन् । बुधबार संघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै केसीले नेपाली बैंकिङ्ग क्षेत्रले ठूलो चुनौतिका बीचबाट अघि बढेपनि दक्षिण एसियाका अन्य देशहरूको भन्दा उत्कृष्ट रहेको बताएका हुन् । उनले ४ दशकको अवधिमा बैंकिङ्ग क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका हुन्।
‘हामीले दक्षिण एशियाकै राम्रो बैंकिङ्ग अभ्यास गरिरहेका छौं । ४० अर्बभन्दा कर तिरेका छौं,’ केसीले भने, ‘तर पछिल्लो समय बैंकिङ्ग सबैभन्दा चुनौतीपूर्ण अवस्थामा पुगेको छ । वित्तीय नीतितर्फको समस्या र राजनीतिक अस्थिरताका कारण ।’ एनएमबि बैंकका सीईओ समेत रहेका केसीले खराब कर्जाले पनि समस्या निम्त्याएको भन्दै नेपालको बैंकिङ्ग क्षेत्रले उच्च प्रगति गरेको भन्दै बैंकहरूले गत वर्ष ४० अर्ब कर तिरेको उल्लेख गरे ।
नेपाल बैंकर्स संघको नयाँ नेतृत्व माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालालाई हस्तान्तरण गर्दै केसीले नेपाली बैंकिङ्ग क्षेत्रमा तरलता समस्या र राजनीतिक अस्थिरता जस्ता चुनौतिहरूलाई चिरेर अघि बढ्नुपर्ने बताए । उनले विभिन्न समयमा कर्मचारीमाथि हुने धरपकडले पनि कर्मचारी बाहिरिने समस्या रहेको भन्दै कर्मचारीको मनोबल बढाउनुपर्ने दवावमा बैंकहरू रहेको बताए ।
प्रतिक्रिया