काठमाडौं – सामाजिक अभियन्ता एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईँले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट खारेज भएको छ । प्रसाईँले बैंकविरुद्ध अदालतमा दायर गरेको रिट मंगलबार मुख्य न्यायाधीश विपुल न्यौपाने र न्यायाधीश काजीबहादुर राईको इजलासले खारेज गरिदिएको हो।
रिट खारेज भएसँगै प्रसाईँले ऋण लिएका बैंकलाई ऋण असुलीको बाटो खुलेको छ । बैंकले ऋण असुल गर्न ताकेता गरेपछि ऋण नतिर्ने अभियान सञ्चालन गरेका प्रसाईँले उच्च अदालत विराटनगर, इलाम इजलासमा निषेधाज्ञाको मागसहित रिट दायर गरेका थिए ।
कुमारी बैंकको विर्तामोड शाखासहित चार वटा बैंकविरुद्ध प्रसाईंको पक्षबाट टीकाराम अधिकारीले रिट दाएर गरेका थिए ।प्रसाईँले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार वटा बैंकबाट २ अर्बभन्दा बढी ऋण लिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक अभिव्यक्ति दिएपछि प्रसाईँ गत मंसिर ४ गतेदेखि प्रहरी हिरासतमा छन् । उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दामा दर्ता भएकोमा जिल्ला अदालत काठमाडौंले ४० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । तर, उनीमाथि हाल सङ्गठित अपराध र आपराधिक लाभको कसुरमा छानबिन भइरहेको छ ।
प्रतिक्रिया