काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १ खर्ब ४९ अर्ब ८४ करोड (२.३ प्रतिशत) ले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १ खर्ब ५४ अर्ब ६१ करोड (२.७ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.६ प्रतिशतले बढेको केन्द्रीय बैंकद्वारा जारी प्रतिवदेनमा उल्लेख छ ।
यस्तै, २०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.३ प्रतिशत, ३२.८ प्रतिशत र ५४.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.१ प्रतिशत, २७.३ प्रतिशत र ६०.२ प्रतिशत रहेको थियो । २०८१ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपकोअंश ३५.८ प्रतिशत रहेको छ । २०८० कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ३६.० प्रतिशत रहेको थियो।
आर्थिक वर्ष २०८१/८२ को चार महिनामा कुल आन्तरिक कर्जा १ं.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.२ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ कात्तिक मसान्तमा यस्तो कर्जा ५.१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ६.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १.७ प्रतिशतले घटेको थियो।
वार्षिक बिन्दुगत आधारमा २०८१ कात्तिक मसान्तमा यस्तो दाबी १.२ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ३.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ३.० प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ कात्तिक मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.२ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया