बेलायतमा लगानीकर्ता फकाउँदै बोर्ड अध्यक्ष भट्ट

बेलायतमा लगानीकर्ता फकाउँदै बोर्ड अध्यक्ष भट्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपालमा बेलायती लगानी विस्तार गर्ने उदेश्य सहित बेलायत भ्रमणमा गएका लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टले त्यहाँका सम्भावित लगानीकर्ता र विज्ञहरुसँग परामर्श गरेका छन् ।

सन् २०२६ सम्म नेपालमा १० अर्ब अमेरिकी डलर बराबरको लगानी स्वीकृत गर्ने र ६ अर्ब डलरका सार्वजनिक निजी साझेदारीका आयोजना व्यवस्थापन गर्ने लक्ष्य अनुरुप भट्ट अहिले बेलायतमा लगानीकर्तासँग छलफलमा जुटेका हुन् ।

विदेशमा रहेका कुटनीतिक नियोगहरुले आर्थिक कुटनीतिको पक्षलाई ध्यान नदिइरहेको आरोपका बीच बेलायतस्थित नेपाली दुतावासले शुक्रबार नेपालमा लगानी प्रवर्दन सम्बन्धी सम्मेलन गरेको थियो ।

बदलिँदो नेपालमा लगानी प्रवर्दन विषयको सो सम्मेलनमा भट्टले लगानी बोर्डले हालसम्म ८ अर्ब ७० करोड अमेरिकी डलर बराबरका परियोजनाको लागि सहजीकरण गरिरहेको बताउँदै नेपालले स्वच्छ ऊर्जाका क्षेत्रमा विदेशी लगानी लाभदायक र सफल भइरहेको जानकारी गराएका थिए । उनले विदेशी लगानीकर्ताको सहजताका लागि फास्ट ट्रयाकबाट लगानी सुविधा दिने गरी एकल बिन्दु सेवा दिइरहेको भन्दै ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बेलायतस्थित नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले नेपालमा लगानी सुरक्षाको प्रत्याभूत सरकारले गरेको भन्दै ऊर्जा उत्पादन मुलक यातायात पूर्वाधार लगायतमा लगानी गर्न स्वागत गर्ने उल्लेख गरेका थिए । कार्यक्रममा युके नेपाल ट्रेड एण्ड इन्भेष्टमेन्ट फोरमका अध्यक्ष लर्ड शेख, डिपार्टमेन्ट अफ इन्टरनेसनल ट्रेडका ऊर्जा पूर्वाधार निर्देशक रोन्डि बार्कली ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी टिम गोचरलगायतको सहभागिता थियो ।

भट्टले बेलायतमा अन्य सम्भावित लगानीकर्ताहरु सँग पनि दुईपक्षीय छलफल गरिरहेका छन् । उनले नेपालमा लगानीका साथै ज्ञान विस्तारका लागि जियान ग्रुपका कार्यकारी अध्यक्ष प्राध्यपक माइकल मेनिली, प्राइभेट इन्फ्रस्ट्रक्चर डेभलपमेन्ट ग्रुपका विभिन्न विभागीय प्रमुखहरुसँग पनि वान टु वान छलफल गरेका थिए ।

सम्मेलनकै क्रममा युके नेपाल ब्यापार तथा लगानी मञ्चसमेत गठन गरिएको र सो मञ्चको सहकार्यमा लगानीका विषयमै केन्द्रित रहँदै नेपाल भ्रमणमा आउने तय भएको बोर्डका सूचना अधिकारी राजु गुरागाँइले बताए ।