नागरिक स्टक डिलरले सेयर किनबेच गर्न पाउने, नेप्सेमा थपिए २३ कम्पनी

नागरिक स्टक डिलरले सेयर किनबेच गर्न पाउने, नेप्सेमा थपिए २३ कम्पनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नागरिक स्टक डिलर कम्पनीलाई थप सूचिकृत कम्पनीको कारोबार गर्न स्वीकृति दिएको छ ।

नेप्सेले नागरिक स्टक डिलरलाई असार १५ गते थप २३ सूचीकृत कम्पनीहरुको सेयर कारोबारका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो।
यसअघि कम्पनीलाई ५४ कम्पनीको कारोबार गर्ने अनुमति थियो । योसँगै नागरिक स्टक डिलरले अब कुल ७७ वटा सूचीकृत कम्पनीको सेयर कारोबार गर्न पाउनेछ ।

नेप्सेका अनुसार कम्पनीको प्राप्त पत्रमार्फत थप सूचिकृत कम्पनीहरुको कारोबार गर्न स्वीकृति माग भएकोमा धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद–२ बुँदा ३ बमोजिम कम्पनी छनौट गरी कारोबार गर्न अनुमति दिइएको हो ।

नेप्सेका अनुसार अपि पावर कम्पनी, अरुण कावेली, अरुण भ्याली हाइड्रो, एशियन लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, हिमालयन डिष्टलरी, हिमालयन जनरल इन्स्योरेन्स, एचआईडिसिएलको सेयर किन्न अनुमति पाएको हो ।

यस्तै, इन्फिनिटी लघुवित्त, लक्ष्मी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, लुम्बिनी जनरल इन्स्योेन्स, मेरो माइक्रोफाइनान्स, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी थप भएका हुन। त्यस्तै, नेपाल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेरुड लघुवित्त, प्रभु इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैंक, शिवम सिमेन्ट, सिद्धार्थ इन्स्योरेन्स, सूर्या लाइफ र सिनर्जी पावर डेभलपमेन्टको सेयर किनबेच गर्न अनुमति पाएको हो।

यसअघि नेप्सेले २६ वटा वाणिज्य बैंक,नेपाल टेलिकम र तारागाँउ रेजन्सी होटल लगायतका ५४ कम्पनीको सेयर किनबेचको अनुमति प्रदान गरेको थियो ।

नेप्सेले धितोपत्र व्यापारी कार्यसंचालन सम्बन्धी कार्यविधि २०७७ अनुसार कम्पनीको सूची तयार पारेको हो । कार्यविधि अनुसार विगत ३ वर्षदेखि नाफामा रहेको, लगानीकर्ताको संख्या कम्तिमा १० हजार नाघेको, चुक्ता पूँजी २० करोड रुपैयाँ भन्दा बढी भएको विगत एक वर्षको कारोबार दिनमध्ये कम्तिमा ८० प्रतिशत दिनमा कारोबारको भएको हुनेपर्ने व्यवस्था छ । यस्तै नेप्सेले, प्रत्येक वर्ष कारोबार योग्य कम्पनीहरुको सूची अद्यायवधिक गर्नेछ।

सेयर बजारमा ठूलो घटबढ हुन नदिन स्टक डिलर स्थापना गरिएको हो । कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ, चुक्ता पूँजी ५ अर्ब रुपैयाँ छ । कम्पनीले चुक्तापूँजीको ६ गुणासम्म कर्जा सापटी लिएर दोस्रो बजारमा परिचालन गर्न पाउने व्यवस्था छ । यसका आधारमा ५ अर्ब रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले ३५ अर्बसम्म लगानी पाउने देखिन्छ ।

स्टक डिलर कम्पनीमा नागरिक लगानीकोषको ५१ प्रतिशत शेयर स्मामित्व रहेको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को ९ प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत शेयर छ ।

कम्पनीमा कोषको दुई अर्व ५५ करोड रुपैयाँ लगानी छ भने टेलिकमले ५० करोड, पुर्नबीमा कम्पनीको ४५ करोड र एक अर्ब ५० करोड सर्वसाधारणको लगानी छ।

नेपालको पूँजी बजारमा संस्थागत लगानीकर्ताको प्रवेशमा शिघ्रता ल्याउन संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न सक्ने तथा पूँजी बजारको विकासमा गतिशिलता ल्याउने उद्देश्यले नागरिक स्टक डिलर कम्पनी संचालन गरिएको हो। स्टक डिलरको प्रवेशले पूँजी बजारमा गतिशिलता आई बजारको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको भएपनि त्यसको प्रभावकारिता अझै देखिन सकेको छैन ।