नेपाल बैंकर्स संघले फेर्दैछ नेतृत्व, को बन्ला नयाँ अध्यक्ष ?

नेपाल बैंकर्स संघले फेर्दैछ नेतृत्व, को बन्ला नयाँ अध्यक्ष ?


काठमाडौं – वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए) ले नयाँ नेतृत्व चयन गर्ने भएको छ । संघले आगामी पुस ३ गते बोलाइएको ३८ औं साधारण सभा सभाबाट संघको नयाँ नेतृत्व चयन हुने भएको हो ।

नेपाल बैंकर्स संघमा १४ वर्षपछि निर्वाचन मार्फत अध्यक्ष चुन्ने निर्णय गरेको छ । बैंकर्स संघ बैंकिङ्ग क्षेत्रको ठूलो छाता संगठन भएकाले कस्तो नेतृत्व पाउँला भन्ने चासो बढेको हो । संघको अध्यक्षका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन र माच्छापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले उम्मेद्वारी दर्ता गराईसकेको बुझिएको छ ।

हाल एनएमबी बैंकका सीईओ सुनिल केसी संघको अध्यक्ष छन् । संघको २०७९ को विशेष साधारण सभाले केसीलाई अध्यक्ष चुनेको हो । उनी दुई वर्षे कार्यकालका लागि संघको अध्यक्ष भएका थिए ।

संघमा यसअघि सहमतीमार्फत अध्यक्ष चुनिदै आएकोमा यो वर्ष भने चुनाव गरेर नै अध्यक्ष चुन्ने निर्णय भएको हो । संघमा उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रचलन रहेको हुँदा पनि कोइरालाले उम्मेद्वारी दर्ता गराएको बुझिएको छ । शेरचनलाई विभिन्न किसिमका आरोपहरु लाग्दै आएको कारण अध्यक्ष कोइराला बन्न सक्ने बैंकरहरुको बुझाई छ ।

संघको कार्यसमितिमा अध्यक्ष सुनिल केसी, निवर्तमान अध्यक्षको हैसियातमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना, उपाध्यक्ष सन्तोष कोइराला र सदस्यहरुमा अशोक शेरचन, नेपाल एसबीआई बैंकका सीईओ दीपक कुमार दे, सानिमा बैंकका सीईओ निश्चल राज पाण्डे, प्राइम कमर्सियल बैंकका सीईओ सन्जिव मानन्धर, एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ, सिद्धार्थ बैंकका सीईओ सुन्दर प्रसाद कँडेल र सल्लाहकारमा हिमालयन बैंकका सीईओ अशोक राणा रहेका छन् ।