काठमाडाैं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी दक्षिण कोरियाको राजधानी सिओलमा आयोजित केन्द्रीय बैंकहरूको संगठन सिसनको ६० औँ गभर्नर्स सम्मेलन तथा ४४ औँ बोर्ड अफ गभर्नर्स बैठकमा सहभागी भएका छन्। गभर्नर अधिकारी २०८१ मंसिर २१ र २२ गते साे कार्यक्रममा सहभागी भई मंसिर २४ गते स्वदेश फर्किएका हुन् ।
सिसन सेन्टर बैंक अफ कोरियाद्वारा संयुक्त रुपमा आयोजित उक्त सम्मेलनको पहिलो दिन बैंक अफ कोरियाका गभर्नर चाड योड रीले स्वागत मन्तव्यमार्फत सम्मेलनको उद्देश्य र महत्वमाथि प्रकाश पारे भनेसिसन सेन्टरका कार्यकारी निर्देशक डा. सिनयोङ पार्कले उद्घाटन मन्तव्य व्यक्त गरेका थिए ।
उक्त अवसरमा दुई वटा सत्रमार्फत ‘२०२५ मा ग्लोबल इकोनोमी र फाइनान्सियल मार्केट्सका लागि सम्भावनाहरू’ र ‘जियो-इकोनोमिकको नीति प्रभाव, वातावरणीय प्रभाव, दिगो आर्थिक विकासमा पार्नसक्ने असर र सोको निराकरणका लागि क्षेत्रीय सहकार्य, बहुपक्षीय समाधान तथा लचिलो नीति प्रभावकारी हुने विचार व्यक्त गरेका थिए । उक्त कार्यक्रममा सिसनका सदस्य केन्द्रीय बैंकका गभर्नर तथा उच्च अधिकारीहरूको सहभागिता थियो ।
कार्यक्रमको दोस्रो दिन ४४ औँ बोर्ड अफ गभर्नर्स बैठक (BOG)बैंक अफ कोरियाका गभर्नर चाड योङ रीको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा सन् २०२४ मा भएका गतिविधि, चालु रणनीतिक योजनाको कार्यान्वयन अवस्था, सन् २०२५ का लागि प्रस्तावित कार्यक्रम, अनुसन्धान, बजेटलगायतका विषयमा छलफल गरी सहभागी गभर्नरहरूको राय सुझावका आधारमा प्रस्तावहरू अनुमोदन भएको थियो ।
एसियाली अर्थतन्त्रका लागि खण्डीकरण विषयहरूमा गभर्नरहरूकाे प्यानल छलफल सम्पन्न भएको थियो । छलफलमा विश्व अर्थतन्त्रले सामना गरिरहेको न्यून आर्थिक वृद्धि, मुद्रास्फीतिको दवाब, उच्च ब्याजदर, भू-राजनीतिक तनाव, वित्तीय बजारको सम्भावना, भू-आर्थिक खण्डीकरणमा नीतिगत प्रभावका बारेमा विस्तृत चर्चा गरिएको थियो । सम्मेलनको दोस्रो सत्रमा गभर्नर अधिकारी प्यानलिस्टको भूमिकामा सहभागी हुनुभई भू-आर्थिक खण्डीकरणका कारण नेपाल जस्ता मुलुकले सामना गर्नुपरेका चुनौती, निर्यातको घट्दो अवसर, छिमेकी लगायत एसियाली मुलुकहरूसँगको बढ्दो व्यापार निर्भरता तथा विप्रेषण आप्रवाहमा पर्ने प्रभावले गरिबी निवारणमा पार्ने प्रभाव लगायतका विषयमा छलफल भएकाे थियाे ।
सीसनको सन् २०२५ को अध्यक्षता बैंक इन्डोनेसियालाई हस्तान्तरण गरी ६१ औं गभर्नरहरूको सम्मेलन र ४५औं बोर्ड अफ गभर्नरहरूको बैठक इन्डोनेसियामा हुने जनाइएको छ ।
प्रतिक्रिया