बैंकिङ्ग प्रणालीबाट अधिक तरलता थुप्रिएपछि ४० अर्ब रुपैयाँ तान्दै केन्द्रीय बैंक 

बैंकिङ्ग प्रणालीबाट अधिक तरलता थुप्रिएपछि ४० अर्ब रुपैयाँ तान्दै केन्द्रीय बैंक 

'केन्द्रीय बैंकले मंसिर लागेपछि यो आठौं पटक तरलता खिच्न लागेको हो'


काठमाडौं –  बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले आज मंसिर २६ गते फेरि बैंकिङ्ग  प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने  हो ।

अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग  प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यो २१ दिने निक्षेप संकलन उपकरणको पुस १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले मंसिर लागेपछि यो आठौं पटक तरलता खिच्न लागेको हो ।  यसअघि केन्द्रीय बैंकले  मंसिर २ गते ५० अर्ब, ५ गते ४० अर्ब, ९ गते ५० अर्ब, १२ गते १०० अर्ब, १६ गते ५० अर्ब,  १९ गते ५० अर्ब,  २३ गते ७० अर्ब, २६ गते ४० अर्ब रुपैयाँ तान्ने भएको थियो ।