शाइन रेसुङ्गा बैंकले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव

शाइन रेसुङ्गा बैंकले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव


काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारणसभा पुस १९ गते शुक्रबार बोलाएको छ । बैंकको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा ३ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारितका लागि सभामा पेश गर्नेछ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।

साथै, बैंकले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सहमति हुने प्रयोजनका लागि उयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने । सहमति पत्रमा हस्ताक्षर गर्ने सोको आधारमा सैद्धान्तिकका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने विशेष प्रस्तावमा राखेको छ ।

प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियमकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आश्यकता अनुसार परिमार्जन,संशोधनका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव राख्ने भएको छ ।