बैंकिङ्ग समाचार, काठमाडौं ।
प्रभु क्यापिटलले नेपालमा सर्वप्रथम आयोजना प्रभावित स्थानीयहरुले अनलाइनबाटै आवेदन दिन सकिने सुविधा सञ्चालनमा ल्याएको छ ।
क्यापिटलले पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना प्रभावित वासिन्दाहरुले आफैँले अनलाइनबाट आवेदन दिन मिल्ने गरी यो सेवा सञ्चालनमा ल्याएको हो ।
यसका लागि क्यापिटलको वेबसाइटबाट आवेदकहरुले आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजात सहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।
हितग्राही खाता खोल्न बाँकी तथा हितग्राही खाता भएका दुबैले अनलाइनबाट आवेदन दिन सक्नेछन् । आवेदन गरिसकेपछि लगानीकर्ताहरुले अनलाइनबाट इसेवा, खल्ती तथा प्रभु पेबाट भुक्तानी गर्न सक्ने जनाइएको छ ।
साथै कनेक्ट आइपीएस वा बैंकमा गई आवेदन फारम सबमिट गरेपछि प्राप्त आवेदन नम्बर र आवेदकको नाम राखी बुझाएको रकमको भौचर अपलोड गरी भुक्तानी सम्पन्न गर्न सक्नेछन् ।
यो वेबसाइटबाट हाल इलाम जिल्लाबासीहरुले इलाम नगरपालिकाको वार्ड नं. १ र ४ मा अवस्थित पुवा–२ जलविद्युत आयोजना निर्माण गरीरहेको पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा आवेदन दिन सक्नेछन् ।
प्रभु क्यापिटल लिमिटेडले नेपाली पूँजी बजारमा नयाँ नयाँ प्रविधिहरुको विकास गरी ग्राहक तथा सम्पूर्ण नेपाली पुँजी बजारको विकासमा आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
प्रतिक्रिया