लगानीकर्ताले चित्त बुझाएनन् मौद्रिक नीतिको समिक्षा, सातामा दोहोरो अंकले घट्यो परिसूचक

लगानीकर्ताले चित्त बुझाएनन् मौद्रिक नीतिको समिक्षा, सातामा दोहोरो अंकले घट्यो परिसूचक


काठमाडौं – यो साताको शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोहोरो अंकको गिरावट देखिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समिक्षा गरेको साता शेयर लगानीकर्ताहरुले नरुचाएपछि नेप्से परिसूचक १३ अंकले घटेको हो ।

गत साताको शुक्रबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा लगानीकर्ताको माग सम्बोधन नहुँदा आइतबारदेखि नै शेयर बजा परिसूचक ओरालो लाग्न थालेको थियो । फलस्वरुपः आइतबार नेप्से परिसूचकमा ९.९९ अकंको गिरावट देखियो ।

लगानीकर्ताले मौद्रिक नीतिको समीक्षामार्फत विशेष गरी शेयर धितो कर्जामा लगाइएको क्याप हटाउने, जोखिम भार १०० प्रतिशतमा झार्ने र माइक्रो फाइनान्सको लाभांश वितरणमा लगाइएको सीमा खुकुलो गर्नुपर्ने माग राखेका थिए । तर, नेपाल राष्ट्र बैंकले यीमध्ये कुनै पनि माग सम्बोधन गरेन । यहीकारण, समीक्षाले कुनै पनि नीतिगत सुधार गर्न नसक्दा लगानीकर्तामा निराशा छाएको हो ।

यस्तै, सोमबार र मंगलबार भने शेयर बजार परिसूचकमा वृद्धि देखियो । सोमबार १९.९७ अकंले बढेको नेप्से मंगलबार १७ दशमलव ८० अंकले बढेको थियो । बुधबार दोहोरो अंकले ओरालो लाग्दै नेप्से परिसूचक २४.९७ अकं घटेको थियो । साताको अन्तिम कारोबारको दिन बिहीबार भने बजार १५.९३ अंकले घट्यो । साताको ३ दिन घटेको शेयर बजार परिसूचक दुई दिन बढ्दा समग्रमा १३ अंकले घटेको हो ।

 कुन दिन कति कारोबार ?

आइतबार –  ८ अर्ब ८३ करोड रुपैयाँ

सोमबार – १० अर्ब ५४ करोड रुपैयाँ

मंगलबार – ८ अर्ब ५२ करोड रुपैयाँ

बुधबार – ९ अर्ब १३ करोड  रुपैयाँ

बिहीबार – ८ अर्ब ३६ करोड रुपैयाँ

यो साता समग्रमा ४५ अर्ब ३८ करोडको कारोबार भएको छ । गत साता समग्रमा ३९ अर्ब ३६ करोड रुपैयाँको कारोबार हुँदा परिसूचकमा ८० दशमलव ६५ अंकको वृद्धि देखिएको थियो ।