साताको सुन कारोबार: प्रतितोला ४ सय रुपैयाँले घट्यो मूल्य 

साताको सुन कारोबार: प्रतितोला ४ सय रुपैयाँले घट्यो मूल्य 


काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा आज सुनको मूल्य घटेको थियो । अघिल्लो साताको अन्तिम दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार छ सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला चार सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो कारोबारको दिन सोमबार पनि सुनको मूल्यमा गिरावट आएको थियो ।

आइतबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको मूल्य सोमबार एक हजार दुई सय रुपैयाँले  घटेको थियो। मूल्य घटेसँगै सोमबार सुन  प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको थियो । मूल्य बढेसँगै त्यसदिन सुन प्रतितोला  एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको मूल्य बुधबार एक सय रुपैयाँले बढेको थियो ।

त्यसदिन, सुन प्रतितोला एक लाख ५० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार सुनको मूल्य तीन सय रुपैयाँले बढेको थियो । मूल्य बढेसँगै त्यसदिन सुन प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार  भएको थियो । शुक्रबार सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेको थियो ।

मूल्य घटेसँगै सुन प्रतितोला  १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यो साता प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँबाट सुरु भएको सुनको मूल्य अन्तिम कारोबारको दिनसम्म आइपुग्दा १ लाख ५० हजार १ सय रुपैयाँमा सीमित भएकाे छ ।

समग्रमा यो साता सुनको मूल्यमा सामान्य अर्थात् ४ सय रुपैयाँको गिरावट देखिएको छ । अघिल्लो साता सरकारले भन्सारदर घटाएपछि सुनको मूल्यमा भारी अर्थात् १६ हजार ३ सय रुपैयाँको गिरावट देखिएको थियो ।