क्रिप्टोकरेन्सीको राजधानी बन्दै अमेरिका, बिटक्वाइनको मूल्य किर्तिमानी बिन्दुमा

क्रिप्टोकरेन्सीको राजधानी बन्दै अमेरिका, बिटक्वाइनको मूल्य किर्तिमानी बिन्दुमा

ट्रम्पले जितेयता निरन्तर बढ्दै १ लाख डलर पुग्यो बिटक्वाइनको भाउ


काठमाडौं – अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जितेयता बढ्न थालेको बिटक्वाइनको मूल्य १ लाख डलर नाघेको छ । राष्ट्रपतिमा ट्रम्पले जित्नुअघि प्रति बिटक्वाइनको ७० हजार अमेरिकी डलरभन्दा न्यून थियो । तर, त्यसयता निरन्तर बढेर १ लाख डलरभन्दा माथि पुगेको हो ।

चुनावी दौडका दौरान राष्ट्रपति ट्रम्पले आफूले जितेमा अमेरिकालाई बिटक्वाइनको राजधानी बनाउने घोषणा गरेका थिए । यहीकारण, मतगणनाका क्रममा ट्रम्पले जित्ने सम्भावना बलियो बन्दै जाँदादेखि नै बिटक्वाइनको मूल्यमा उछाल देखिन सुरु गरेको थियो ।

यस्तै, बिटक्वाइनलाई मुद्राकारुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने एलन मस्कका कारण समेत भाउ बढिरहेको छ । मस्कले अमेरिकामा बिटक्वाइन तिरेरै विद्युतीय सवारी टेस्ला किन्न मिल्ने व्यवस्था गरेका थिए । यस्तै, समय–समयमा बिटक्वाइनबारे ट्वीट समेत गर्दै आइरहेका छन् ।

उनी मस्क यतिबेला ट्रम्प कार्यकालको प्रशासनमा शक्तिशाली भूमिकामा छन् । उनी अमेरिकाको बजेट कटौती गर्ने लक्ष्यसहित स्थापित निकायको नेतृत्वमा छन् । जसले कम्तिमा ३ देखि ४ ट्रिलियन अतिरिक्त खर्च काटेर बजेट खर्च घटाउने लक्ष्य तय गरिएको छ ।

प्रति बिटक्वाइनको मूल्य बढेर १ लाख अमेरिकी डलरभन्दा माथि पुगेपनि यो विद्युतीय मुद्रा हो । यसको संस्थापक वा निर्माताको पहिचान हालसम्म खुल्न सकेको छैन । अहिलेसम्म यसको प्रतिपादन गर्ने संस्था, व्यक्ती वा योजनाकारबारे सार्वजनिक जानकारी आइसकेको छैन ।

यद्यपी, बिटक्वाइन विश्वभर लोकप्रिय बन्दै गइरहेको छ । धेरै देशले बिटक्वाइनमार्फत हुने भुक्तानीलाई वैध नै गरिसकेका छन् । सन् २००९ मा बिटक्वाइन सार्वजनिक भयपछि यसको लोकप्रियता देखेर हालसम्म १३ हजारभन्दा बढी क्रिप्टोकरेन्सी प्रचलनमा छन् । प्रतिबिटक्वाइनको मूल्य १ लाख डलर नाघेपनि फेरी घटेर ९७ हजार अमेरिकी डलरसम्म आइपुगेको छ । यो पनि उच्च मूल्य हो ।