राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १ अर्ब ३७ करोड ब्याजमा लगानी गर्ने

राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १ अर्ब ३७ करोड ब्याजमा लगानी गर्ने


काठमाडौं – नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण कोषको १ अर्ब ३७ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले उक्त रकम ३६६ दिनका लागि निक्षेपको रूपमा बैंकमा राख्ने भएको हो । बिहीबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई दरखास्त आह्वान गरेको छ ।

सूचना अनुसार कुल रकममध्ये १ अर्ब ९ कराेड ६० लाख रुपैयाँ ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि छुट्याइएको छ भने ‘ख’ वर्गको विकास बैंकहरुका लागि २० करोड ५५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्तीय संस्थाहरुका लागि ६ करोड ८५ लाख रुपैयाँ छुट्याइएको छ ।

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले मङ्सिर २४ गते बिहान १० बजेदेखि ३ बजेसम्ममा अनलाइन आवेदन दिन सक्नेछन् । यद्यपि, यस्तो निक्षेपका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनको कम्तीमा २ वर्ष पुरा गरेको हुनुपर्नेछ भने निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने राष्ट्र बैंकले सर्त राखेको छ । निक्षेप आगामी पुस १ गतेदेखि २०८२ मंसिर २ गतेसम्म राखिनेछ ।