चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री, बीआरआई कार्यान्वयनमा सहमती

चीन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री, बीआरआई कार्यान्वयनमा सहमती


काठमाडौं – ४ दिन चीन भ्रमण सकेर प्रधानमन्त्री केपीशर्मा ओली आज स्वदेश फर्किएका छन् । उत्तर छिमेकी मुलुक चीनको भ्रमणमा उनी मंसिर १७ गते निस्किएका थिए । आजसम्मको चीन बसाई सकेर प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री ओलीलाई चीनका उप परराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङको विमानस्थलबाट विदाई गरे । चीनको स्थानीय समयअनुसार बिहान ११ बजे चीनबाट प्रधानमन्त्री ओली नेपाल फर्किएका हुन् । नेपाली समयअनुसार ओली दिउँसो साढे २ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

चीन भ्रमणका क्रममा नेपाललाई साढे ५ अर्ब रुपैयाँ अनुदानको सम्झौता भएको छ । यस्तै, बेल्ट एण्ड रोड इनिसियटिभअन्तर्गत १० वटा आयोजना अघि बढाउने सम्झौता समेत सम्पन्न भएको छ । यसैगरी, बीआरआईमा नेपालले अनुदान र ऋण दुवै लिने सहमती समेत भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै, चिनियाँ राष्ट्रपति प्रधानमन्त्री ओलीसँगको भेटकाक्रममा नेपाललाई साढे ९ अर्ब रुपैयाँ हाराहारी अनुदान उपलब्ध गराउने उद्घोष समेत गरेका छन् ।