मेरो कार्यकालमा कुनैपनि गुनासो नआउने गरी काम गर्छु : सीईओ कमल गौतम

मेरो कार्यकालमा कुनैपनि गुनासो नआउने गरी काम गर्छु : सीईओ कमल गौतम


काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल गाैतमले आफ्नो कार्यकालमा कम्पनीको हितका साथै समग्र बीमा क्षेत्रकाे विकासमा प्रतिबद्ध भएर लाग्ने बताएका छन् । कम्पनीकाे सञ्चालक समितिको मंसिर १८ गते बसेको बैठकअनुसार सीईओमा नियुक्त भएका गाैतमले कम्पनीकाे हितमा राम्राे काम गर्ने बताएका हुन् ।

बैंकिङ्ग समाचारसँगकाे कुराकानीमा सीईओ गाैतमले भने, ‘बीमा क्षेत्रमा मेरो लगाव छुट्टैछ । बीमा क्षेत्रमा काम गर्दै गर्दा धेरै अनुभव बटुलिसकेको छु । आगामि दिनमा झनै धेरै काम गर्नेछु ।’ साथै, उनले युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा विश्वास गरेर जिम्मेवारी दिएकाेमा सबैलाई धन्यवाद दिँदै र आगामी दिनमा निराश नगराउने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले हिमालयन एभरेष्ट इन्स्योरेन्सको कार्यकालमा पनि सक्रिय भएर लागि परेको बताँउदै अबको समयमा युनाइटेड अजोड इन्स्योरेन्सको कार्यकालमा कुनैपनि गुनासो नआउने गरी काम गर्ने बताए । गाैतमले हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज हुनुभन्दा पहिला उनले एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतका रुपमा समेत काम गरिसकेका छन् ।

को हुन् सीईओ  गौतम ?

युनाइटेड अजोडमा सीईओ बनेका गौतम निकै लामो बीमा तथा बैंकिङ्ग अनुभव प्राप्त व्यक्ति हुन् । बैंक र बीमा क्षेत्रमा तीन दशक बढीको अनुभव सम्हालेका गौतमले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्।

उनीसँग दुई दशक बढीको बैंकिङ्ग अनुभव रहेको छ । गौतम नेपाल ग्रिन्डलैज बैंकबाट प्रोफेसनल बैंकिङ्ग क्यारियर सुरु गरी हिमालयन बैंक, एनआईसी एशिया बैंक, एनएमबि बैंक, सनराइज बैंकमा काम गरेको अनुभव छ ।

इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा समेत काम गरेका थिए । इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक एनसिसि बैंकमा गाभिए प्रश्चात नायव महाप्रबन्धकबाट गौतमले अवकाश लिएका थिए ।

वित्तीय तथा बीमा क्षेत्रका अनुभवी र उत्कृष्ट निर्णय लिन सक्ने क्षमता भएका व्यक्ति हुन् कमल गौतम । उनको नेतृत्वमा कम्पनीले उल्लेख्य प्रगति गर्ने कम्पनी सञ्चालक समितिले विश्वास लिएको छ ।