काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसनले सीसीपीआईटीसँग दुई बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बेइजिङ पुगेको नाडाले चिनियाँ पक्षसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
चिनियाँ काउन्सिल फर द प्रमोशन अफ इन्टरनेश्नल ट्रेड अटोमोबाइल्स काउन्सिलसँग समझदारी पत्रमा हस्ताक्षर गरेको नाडाले जानकारी दिएको छ । नेपाल चीन अटोमोबाइल व्यापार र सहकार्य प्रवर्द्धन गर्ने लक्ष्यसहित समझदारी भएको हो ।
समझदारी पत्रमा अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन महत्त्वपूर्ण सम्झौता (एमओयू) मा हस्ताक्षर गरेका छन् । यो सम्झौताले नेपाल र चीन बीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
व्यापार मेलाहरू, व्यावसायिक प्रतिनिधिमण्डलहरूको आदानप्रदान र नीति वकालत जस्ता संयुक्त पहलमार्फत दुवै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको छ ।
यस्तै, सम्झौताअनुसार नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेला आयोजना गर्ने र नेपाली बजारमा रुचि राख्ने चिनियाँ व्यापारीलाई सहयोग गर्नेछन् । यसैगरी, चिनियाँ व्यवसायीले नेपालमा चिनियाँ लगानी प्रबद्र्धन गर्ने, प्रविधि आदान प्रदान गर्ने र संयुक्त कार्यक्रम सञ्चालन गर्ने बताइएको छ ।
प्रतिक्रिया