४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण धमाधम

४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण धमाधम


काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ४०० किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालामा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सदृढ बनाउन ४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण सुरु गरिएको हो ।

सोही स्थानमा २२०/१३२ केभी र १३२/११ केभी सबस्टेसन निर्माण सम्पन्न गरी उपकरणहरुको परीक्षण सम्पन्न भइसकेको छ । ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित ४०० केभी बाह्रबिसे सबस्टेसनका सम्पूर्ण उपकरणहरु निर्माण स्थलमा आपूर्ति भइसकेका छन् । पावर ट्रान्सफर्मरहरु राख्ने सिभिल संरचनाहरुको निर्माण सम्पन्न गरी जडान भइरहेको छ ।

नियन्त्रण कक्ष, जिआइएसका उपकरणहरु रहने भवनको सिभिल संरचना निर्माणाधीन छन् । सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएपछि उपकरणहरुको जडान सुरु हुनेछ । सबस्टेसनको समग्र निर्माण प्रगति ७० प्रतिशतको हाराहारीमा छ । सबस्टेसन निर्माण आगामी जेठभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अघि नै सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गरे । कार्यकारी निर्देशक घिसिङले भने, ‘४०० केभी बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भएपछि बलेफी तथा भोटेकोशी नदी करिडोरमा निर्माण भएका जलविद्युत आयोजनाहरुको विद्युत यही सबस्टेसनमा जोडी बाह्रबिसे–खिम्ती ४०० केभी प्रसारणलाइनमार्फत ढल्केबरतर्फ पठाउन सकिन्छ ।’

खिम्ती, बाह्रबिसे र लप्सीफेदी ४०० केभी सबस्टेसन आयोजनाअन्तर्गत तीनवटा सबस्टेसन निर्माणाधीन छन् । तामाकोशी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४३ किलोमिटर प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको समस्या, स्थानीयको अवरोधलगायतका समस्या झेल्दै आएको खिम्ती–बाह्रबिसे–काठमाडौ प्रसारण लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको कार्यकारी निर्देशक घिसिङले बताए ।